आफ्नै आमा नै सौता बनेपछि…..

256
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) :
विवाह गरेको ३ महिना नबित्दै श्रीमतीलाई अलग राखेर सासूसँग सम्बन्ध राख्ने ज्वाइँ र सासूलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ। सुगाभवानीपट्टी–६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा–२ की ३२ वर्षीया रेखा देवी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो।पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासू दुवैलाई पक्राउ गरी कानुनबमोजिम अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकवाल हवारीले बताए।

हीरा र राजकिशोरबीच ०७० माघ ९ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो। राजकिशोर हर्नियाका रोगी भएर गत वैशाखमा भारतको मधवापुरमा शल्यक्रिया गराएर आएपछि बिरामी ज्वाइँको हेरचाह गर्न ज्वाइँकै घर भ्रमरपुरा–२ मा केही दिन बसेकी सासू रेखासँगै शारीरिक सम्बन्ध भएको छोरी हीराले हल्ला गरेपछि दुवै भागेर गत जेठमा भारतको आगरा गएको पीडित हिराले बताइन्।सासू र ज्वाइँले विवाह गरी असारको दोस्रो सातादेखि जनकपुरमा आई पतिपत्नी भई बस्न थालेपछि छोरी हीराले प्रहरीमा उजुरी दिएको बताइन्। आमाले आफूलाई पतिसँग बस्न नदिएको, सुत्न नदिएको र आमा नै ज्वाइँसँग सुत्ने गरेकाले हल्ला गर्दा आमाले कुटपिट गर्ने गरेकाले सानीमाकहाँ बस्दै आएको हीरा बताउँछिन्।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ज्वाइँ राजकिशोरले सासूले नै शरीरमा मालिस गर्ने वहानामा आफूलाई उत्तेजित पारेकाले शारीरिक सम्बन्ध भएको स्वीकार गरेका छन्। पीडित हीराका पिता १० वर्षदेखि रोजगारीका लागि कतारमा रहेका र गत माघमा १५ दिनको बिदामा आएर छोरीको विवाह गरेर फर्केका थिए।बाबुआमाले नै बालक अवस्थामै विवाह गरेर दिएको पतिसँग आमा नै सौता भएपछि हीराको बिचल्ली भएको छ भने हीरासँगै उनका कक्षा ७ मा पढ्दै गरेका १२ वर्षीय भाइको समेत बिचल्ली भएको हीराले बताइन्। बाबु कतारमा यहाँ अभिभावक भनिएका आमा र पतिबीचमै अबैध सम्बन्ध चलेपछि आफूहरूको बिजोग भएको हीराको भनाइ छ।पक्राउ परेका दुवैलाई आइतबारै जिल्ला अदालत पेस गरेर अनुसन्धानका लागि म्याद थपेर हिरासतमा राखिएको इन्सपेक्टर हवारीले बताएका छन्। नेपालसमाचारपत्रबाट


  •  
  •  
  •