शिक्षित परिवारमै महिलालाई ठूलो विभेद

169
  •  
  •  
  •  

र्तमान समयमा महिलाको अवस्था ठाउँ अनुसार फरक छ । गाउँका अधिकांश महिला आफूलाई घरभित्र सिमित राखेका छन् । शहरी क्षेत्रमा धेरै महिलाहरु शिक्षित भएर अगाडि बढ्दैछन् । शहरमा पढेका, केही जानेका–बुझेका महिलाहरु आफूलाई घरको काममा मात्र सिमित राख्न चाहँदैनन् । उनीहरु सबैतिर काम गर्दै अगाडि बढ्दैछन् । यद्यपि शिक्षित महिलालाई चुनौती पनि छ ।
विभिन्न किसिमको राजनीतिक परिवर्तनपछि संविधानसभामा महिलाको सहभागिता भयो तर त्यो अंकमा मात्र सिमित देखिन्छ । त्यहाँ महिलाहरुले अझै पनि निर्णयक भूमिका खेल्न सकेका छैनन् । नीति निर्माण तहमा भने अझै पनि पुरुष हावी नै छन् । त्यो स्थानसम्म पुग्नका लागि अझै पनि महिलाले आफ्नो चेतनामा वृद्धि गर्नुपर्छ ।
समाजमा महिला र पुरुषको बराबर भूमिका छन् । पुरुषले पनि अहिलेको समयमा महिलाले गरेकोे विकासलाई बुझ्नुपर्छ र महिलाले पनि आफ्नो परिवारलाई बुझाउनसक्नुपर्छ । महिलाबाट महिला नै उत्पीडनमा हुने र पुरुषले पनि महिलालाई तल पार्ने हुदाँ महिलाले सबैलाई बुझाउन सक्नुपर्छ । घरमा मात्र सिमित रहन सकिँदैन, बाहिरको काम गर्नुपर्छ, हिँड्नुपर्छ भनेर महिलाले राम्रोसँग बुझाउनु पर्छ ।
शिक्षित परिवारमा पनि विभेद
अहिले शहरी क्षेत्रमा शिक्षित महिलालाई शिक्षित पुरुषले पनि विभेद गर्ने गरेका छन् । यो सबै पितृसतात्मक सोचको उपज हो । हामीले सानैदेखि त्यही देख्दै, त्यही सिक्दै आएका छाँै । सानो हुँदैमा छोराले घरको भान्सामा आमाले काम गरेको देख्छ । बुबा कामको लागि बाहिर गएको पनि देख्छ ।
बच्चैदेखि छोरालाई बलियो हुुनुपर्छ । रुनु हुदैन भनेर सिकाइन्छ । छोरालाई पढाउन पठाइन्छ । तर छोरीलाई घरको काममा लागाइन्छ । यसैगरी हाम्रो हाम्रो समाज अगाडि बढिरहेको छ । यो किसिमको सामाजिकिकरणको प्रभाव अहिलेको शिक्षित परिवारमा पनि छ ।
हिजो हाम्रो आमाले जे भोग्नु भयो त्यो हामीले भोग्नु पर्दैन । उहाँहरु सानैमा बिहे गर्न विवश हुनुहुन्थ्यो । शिक्षा त परको विषय भयो ।
अवस्था सुध्रिँदै छ 
समय परिर्वतनशित छ । महिलाहरुको अवस्था पनि सुधारोन्मोख छ । महिलालाई मानव नभई वस्तुको रुपमा हेर्न सोच बदलिँदैछ । तर पूर्ण रुपमा पुरुष र महिलालाई समान हैसियतको बनाउन दुवैको उत्तिकै भूमिका हुन्छ । शिक्षित महिलाहरुले सम्झाउँदै अगाडि बढ्नु पर्छ ।
अहिले जानेबुझेका महिलाहरु समाजमा छन् । पैसा कमाएका पनि छन् । आर्थिक रुपमा बलियो भएपछि हामी पुरुषमै निर्भर भइराख्नुपर्दैन । बरु साझेदारी गर्न सकिन्छ । ‘मलाई तपाइँको आवश्यकता पर्छ भने तपाइँलाई पनि मेरो आवश्यकता पर्छ’ भनेर सम्झाउन सकिन्छ ।
प्रजातन्त्रपश्चात नेपालमा धेरै सरकारी तथा गैरसरकारी संस्थाहरु खुले । धेरै विदेशीले पनि नेपालमा महिला सशक्तिकरणको कुरा गरे । तर कसरी परिवर्तन गर्ने भनेर नबुझी कतिपयले आफ्नोे देश अनुकुलका नारा ल्याएर महिलालाई लाद्न खोजे । जुन यहाँ उपयुक्त नहुन सक्छ । नेपाली समाजको जरामा पुगेर समस्या बुझ्न जरुरी छ । जरामा पुगेर, समस्या बुझेर समाधान गरेको रुख राम्रो हुन्छ ।
यद्यपि यस्ता संघसंस्थाको स्थापनाले पनि धेरै सकारात्मक परिवर्तन भएका छन् । अहिले सबै ठाउँमा महिलाको लागि कोटा छुट्टाइएको हुन्छ, ३३ प्रतिशत महिला सहभागिता भन्ने नारा पनि लागेको छ । महिलाको संख्यात्मक सहभागिता भन्दा महिलाको मूद्दाको सम्बोधन झन् महत्वपूर्ण विषय हो । अहिलेको युवाहरुमा भने महिलालाई साथ दिनुपर्छ भन्ने सोच आइरहेको छ ।
दायित्व सबैको 
ग्रामिण भेगतिर अझै पनि धेरै महिला शिक्षित छैनन् । महिलाहरु घरकै धन्दा गर्नकै सिमित छन् । उनीहरुले बाहिर निस्कने, पढ्ने, बुझ्ने अवसर पाएका छैनन् । उनीहरुलाई त बच्चा जन्माउने सासुससुरा, श्रीमान् छोराछोरीको हेरचाह तिम्रो जिम्मा हो भनेर थोपरिन्छ । दुर्गभ भेगको अवस्था हेर्दा महिलाहरुको अवस्था निकै दयनीय छ ।
महिलाको स्तरोन्नती गर्ने, विकास गर्ने दायित्व सबैको हो । एउटा परिवारदेखि राष्ट्रले पनि महिलालाई अगाडि बढाउन सहयोग गर्नुपर्छ । यसका लागि भने चेतनाको विकास र विस्तार त हुनैपर्छ ।
जुम्लाको महिला र काठमाडौंको शिक्षित महिलाको अवस्थामा फरक छ । शहरका शिक्षित महिलाहरु पनि गाउँका महिलाको चेतनावृद्धि र उनीहरुको अधिकारका लागि अघि बढेका छैनन् । एकातर्फ दुर्गमका महिलाहरुलाई परिवारको वातावरणले बाहिर निस्कनबाट रोकेको छ । अर्कोतर्फ शहरीया महिलाहरुलाई आफूलाई राम्रो लगाउन, मिठो खान, रमाइलो गर्न पुगेकै छ, किन अरुको अधिकारका लागि लड्ने भन्ने सोच पनि छ । यो सोच बदल्नै पर्छ ।
आफ्नो अधिकारकै बारेमा थाहा छैन
गाउँका महिलाहरु धेरैलाई आफ्नो अधिकार के हो भन्ने पनि थाहा छैन । खाना बनाउने, घर सफा गर्ने, परिवारलाई खुशी पार्ने, श्रीमानलाई खुशी पार्ने मात्र मेरो काम हो भन्ने सोचाई छ । तर राज्यले मलाई के–के अधिकार दिएको छ ? भन्ने उहाँहरुलाई थाहा छैन् । यसको मुख्य कारण अशिक्षा नै हो । शिक्षित महिला समेत आफ्नो अधिकारको विषयमा बोलेका छैनन् । उनीहरु यस्ता कुराले परिवारबाट नै टाढा रहनु पर्ने हो की भन्ने त्रासमा छन् ।
मेरो परिवार यस्तो 
मेरै परिवारमा पनि सासुससुरा हुनुहुन्छ । उहाँहरुले जे भोग्नु भयो त्यो मानसिकता अहिले पनि छ । बुहारीले नै घरको काम गर्नुपर्छ भन्ने सोच उहाँहरुमा छ । हामी पहिला छुट्टै बस्थेउँ, त्यति बेला उहाँले बच्चा हेर्ने, घरको काममा मलाई सहयोग गर्नुहुन्थ्यो । तर अहिले परिवारको र समाजको डरले उहाँ मलाई सहयोग गर्न चाहना हुँदा हुँदै पनि गर्नुहुन्न । मेरो काम गर्दा अरुले खिल्ली उडाउँछन् कि, जोईटिङग्रे भन्छन् कि भन्ने डर छ उहाँलाई । यस्तो समस्या मेरो जस्तो शिक्षित परिवारमा छ अरुकोमा नहोला भन्नै सकिँदैन ।
केही वर्षअघि मैले पनि घरको काम गर्ने जिम्मा महिलाको र पैसा कमाउने काम पुरुषको हो भन्ने सोच्थेँ तर म एउटा ट्रेनिङमा भाग लिन गएँ अनि थाहा पाएँ महिलाको महत्व । त्यहाँ केयर ओर्कको बारेमा मैले बुझे । विदेशमा केयर ओर्कलाई धेरै महत्व दिने  गरिएको रहेछ । महिलाले घरमा गर्ने कामलाई काम नै होइन भन्ने सोच्थेउँ हामी तर त्यो गलत रहेछ । मैले घर सम्हालिदिएर पो श्रीमान्ले बाहिर गएर पैसा कमाउन सक्षम हुनुभयो । त्यसैले महिलाको कामको पनि मूल्याङ्कन गर्नुपर्छ ।
परिवर्तनसँगै विकृती
अहिले परिवर्तनसँगै धेरै विकृती पनि आइरहेका छन् । महिलाले पनि धेरै स्वतन्त्रताको गलत फाइदा उठाउन थालेका छन् । पश्चिमा समाजको राम्रो भन्दा पनि नराम्रा कुरालाई भने हामीले छिट्टै अनुशरण गरेका छौँ । जस्तो पश्चिमा देशमा सम्बन्धविच्छेद गर्ने कुरालाई निकै सहज रुपमा लिइन्छ तर नेपालमा अझै त्यो कुरा स्वीकार्न सकिने अवस्था छैन ।
हामीलाई अझै पनि परिवार, समाज भन्ने कुरा निकै महत्वपूर्ण छ । हाम्रो धर्मले पनि परिवारलाई महत्व दिन्छ र यसलाई तोड्नु पनि हुँदैन । धर्मभित्रका गलत कुरालाई तोड्नु पर्छ र राम्रा कुरालाई भने अनुशरण पनि गर्नुपर्छ । तर स्वतन्त्रतालाई सही तरिकाबाट सदुपयोग पनि गर्नसक्नुपर्छ । के गर्न हुन्छ ?, के गर्नु हुदैन ? भन्ने कुरा महिलाले पनि बुझ्नु पर्छ ।
मैले कामकै दौरान केही पश्चिमा र पूर्वीय राष्ट्रहरु पनि घुम्ने मौका पाएको छु । कुनै पनि देशमा महिला र पुरुष समान भन्ने नै छैन । कति मुस्लिम देशहरुमा भने महिला अनिवार्य रुपमा वुर्कामा नै हिँड्नुपर्छ । लगाइमा त यस्तो विभेद छ भने अरु कति कुरामा विभेद होला ?! तर धेरै पश्चिमा देशमा भने घरायसी काम महिलाको मात्र हो भन्ने सोच्दैनन् । दुवैले जागिर गर्ने र घरको काम पनि गर्ने गर्छन् । कति देशमा भने पुरुषले पनि अनिवार्य रुपमा महिला (श्रीमती) सुत्केरी हुँदा विदा लिनुपर्छ । दक्षिण एसियाको अवस्था भने लगभग उस्तै छ ।
नीति निर्माणमै समता आवश्यक
कानुन बनाउने प्राय सबै पुरुष हुन् । पक्कै पनि महिलाको आवश्यकतालाई सोचेर संविधान बनेको छैन । यो कानुन बनाउने निकायमा पनि महिला पुग्न सके अझै यो विभेदमा परिवर्तन आउँछ कि ।
आमाको नामबाट नागरिकता दिने, छोरीलाई अंश दिने कानुन पनि बनेका छन् । कानुनी रुपमा परिवर्तन भएपनि व्यवहारसमेत त्यसलाई लागु गर्न आवश्यकता छ ।
महिला अघि बढ्नको लागि शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । म को हो ? मैले के गर्नुपर्छ ? बाहिरको संसार कस्तो छ ? यो कुरा महिलाले पनि बुझ्नु पर्छ । अनि मात्र हुन्छ, परिवर्तन ।
महिला अधिकारकर्मी समिरा पौडेलसँग गरेको कुराकानीमा आधारित 

  •  
  •  
  •