पीडा बिसाउने चौतारी भत्किएपछि…

180
  •  
  •  
  •  

woman voilenceविराटनगर, ९ चैत(ओएनएस) : स्कुल पढने क्रममा माया बसेपछि परिवारको सहमतिबिना २२ वर्ष अघि सिता(नाम परिवर्तन)ले प्रेम विवाह गरिन् । सँगै मर्ने बाच्ने कसम खाएपछि प्रेमीको विश्वासमा मोरङ बयरवनकी उनले केरौन–५ का कटवाल थरका पुरूषसँग भागेर विवाह गरिन् । विवाहपछि परिवारसँगको सम्बन्ध विच्छेद भयो । जात मिल्ने भएपनि भागेर विवाह गरेपछि माईतीले समेत वेवास्ता गरे ।

उनले श्रीमानले हरेक क्षेत्रमा सहयोग गर्छन्, जिन्दगी बिताउने आधार बन्छन् भन्ने सोचेकी थिइन् । तर, वास्तविकता उनको सोचेको भन्दा विपरित भयो । माया र साथ पाउने आश गरेकी उनले प्रेम विवाह गरेको महिना दिन बित्न नपाउदै मानसिक यातना बेहोर्नु पर्यो । दाइजो नल्याएको भन्दै उनलाई श्रीमानले यातना दिन सुरू गरे । आफैँ राजीखुसी विवाह गरेकाले श्रीमानले दिएको पिडा उनले कतै सुनाउन सकिनन् ।

श्रीमानले गर्ने व्यवहार बाहिर कसैलाई सुनाउने अवस्था थिएन उनीसँग । पिडा बिसाउने चौतारी नपाएपछि उनले १४ वर्षसम्म श्रीमानले यातना सहेर बसिन् । १४ वर्ष पछि आफूले पाएको पिडा माइतीसामू पोख्न निर्णय गरेर माइतीमा पुगेकी उनलाई त्यहाँ पनि निराश भइन् । माइतीमा आमाबुबाले छोरीको माया लागेर केही सहयोग गर्छन् भन्ने ठूलो आस बोकेर माइत पुगेकी उनलाई आफू खुसी विहे गरेकी होइन ठिक्क पर्यो भन्दै उल्टो खेदे ।

घर-परिवारबाट समेत सहयोग नपाएपछि अन्ततः उनी बेसहारा जस्ती भइन् । श्रीमानको यातना सहन नसकेपछि दुई सन्तानकी आमा उनले २०६३ बैशाख २ गते घर छोडिन् । श्रीमान र माइतीपक्षले नहेरेपछि उनी जाने ठाउँ कतै नभेटेपछि अण्तिममा उनी गाँउकै दलालको फन्दामा परिन् ।

दलालले उनलाई पैसा राम्रो कमाइ हुने भन्दै विदेश पठायो । दिल्लीमा २२ दिन बसेपछि २०६३ जेठ पहिलो साता उनी साउदी अरब पुगिन् । विदेशमा गएर पैसा कमाउँला भन्ने सपना बोकेर साउदी पुगेकी उनलाई त्यहाँ पनि धोका नै पाइन् । त्यहाँ उनले पैसा कमाउन त परै जावोस् घर फर्कने बाटो खर्चका लागि समेत हात फैलाउनुपर्यो । सीप तथा भाषाको ज्ञान नभएको भन्दै साउदी पुगेको २९ दिनपछि उनी २०६३ असार ४ गते रित्तो हात नेपाल फर्किन् ।

नेपाल फर्किएपछि जाने ठाउँ काही थिएन् उनी आफूले ताल हानेर निस्किएको श्रीमानकै घर पुगिन् । तर, घर पुग्दा उनी फेरी एकटपक आघात भइन् । आफू घरबाट निस्किएको १५ दिन बित्न नपाउदै श्रीमानले दोस्रो विवाह गरेछन् ।

आफूले भोगेको पिडा सुनाउँदै उनले भनिन्, ‘ परिवारबाट तिरस्कृत भएपछि पैसा कमाउन भन्दै विदेश गए । तर, पैसा कमाउन सकिन् । उल्टो गाउँ घरमा पैसा कमाउन नसेकेर आई भन्दै कुरा काट्न थाले ।’ विदेशबाट फर्किएपछि समाजमा अनेकथरी कुरा काटने गरेको उनको गुनासो छ ।

उनले भन्छिन्, ‘मैले त विदेश जादा दुःख पाए । विदेश जानुभन्दा स्वदेशमा नै केही गर्नु उत्तम हुन्छ ।’

विदेश गएपछि श्रीमानले दोस्रो विवाह गरे । गुजरा चलाउने आधार नभएपछि उनले केही वर्षयता सानो व्यापार गर्दैछिन् । परिवारले तिरस्कार गरेपनि आफ्नै खुट्टामा उभिन संघर्ष गर्दैछिन् । सानो घुम्ती पसलबाट भएको आम्दानीले जसो तसो जीवन चलाउदै आएको उनले बताइन् ।

उनी गाउँ गाउँमा लाग्ने हाट बजारमा गएर बच्चाले लगाउने कपडाको व्यापार गर्छिन् । उनले भनिन्, ‘ ठूलो व्यापार गरूँ भने आफूसँग पुजी छैन् ।’ सानो व्यापार गरेर अनुभव सम्हालेकी उनलाई ठुलो व्यापार गर्ने रहर भएपनि लगानी गर्ने पैसा छैन् ।

केरौन गाविसबाट मात्र १ सय ४२ जना महिला वैदेशिक रोजगारीमा खाडी मुलुकहरूमा गएको त्यहाँ कार्यरत अजम्बरी महिला सहकारीले जनाएको छ । यीमध्ये अधिकांश महिला भारतको बाटो हुदै वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

हचुवाका भरमा वैदेशिक रोजगारीमा जाँदा अनावश्यक दुख भोग्नु परेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका संघ सस्थाहरु बताउँछन् ।

मोरङका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकाल ग्रामिण भेगमा दलालहरू सक्रिय रहेकाले त्यस्ता दलालहरूबाट सर्वसाधरण सचेत रहनु पर्ने बताउँछन् । दलालले सर्वसाधरणलाई ठगी गरिरहेपनि प्रहरीमा उजुरी नआउने गरेको उनले बताए । उनी भन्छन्, ‘ कसैले ठग्न लागेको छ भने पनि प्रहरीलाई जानकारी आउँदैन् । प्रहरीसँग जानकारी आउदा धेरै ढिलो भैसकेको हुन्छ । ठगी गर्ने दलालको बारेमा उजुरी गरे हामी कारवाही गर्छौ ।’


  •  
  •  
  •