अशक्त अवस्थामा फर्किएकी बेचिएकी महिलाको मृत्यु

349
  •  
  •  
  •  

शिव चौलागाई

मकवानपुर, २९ मंसिर(ओएनएस) :  आफ्नै आमाजुबाट भारतको कोलकातास्थित वेश्यालयमा बेचिएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । वेश्यालयबाट अशक्त अवस्थामा पाँच बर्षपछि फिर्ता भएकी मकवानपुर गढी ८ की दङ्गाल थरकी महिलाको मृत्यु भएको हो ।

२८ बर्षिया उनलाई कामको शिलशिलामा कोलकातामा रहेका श्रीमानलाई भेटाइदिन्छु भन्दै २०६६ असारमा आमाजु सावित्री तथा उनका श्रीमान् राजु घिमीरेले वेश्यालयमा लगेर बिक्री गरेका थिए । रक्सौलबाट लठ्याउने औषधी खुवाएर बेश्यालयमा लगेर उनलाई बिक्री गरिएको थियो ।

कोठी सञ्चालकले चार वर्षपछि जिब्रो काटेर कुटपिट गरी मरणासन्न अवस्थामा सिलिगुडी बजारको फोहोरको थुप्रोमा फालिदिएका थिए । भारतको सिलगुडीस्थित एक गैरसरकारी संस्थाले फोहोरबाट उद्धारगरी उपचारपछि हेटौंडा ११ स्थित उनको माइतीमा ल्याइदिएको थियो ।

जिब्रो काटिएकाले प्रष्ट बोल्न तथा हिडडुल गर्न नसक्ने अवस्थामा मंसिर ५ गते आइपुगेकी उनको मंसिर २२ गते मृत्यु भएको हो । भाइबुहारी बिक्री गरेको अभियोगमा हेटौंडा ११ की आमाजू सावित्री र उनका श्रीमान् राजु घिमिरेलाई जिल्ला अदालत मकवानपुरले थुनामा पठाएको छ । प्रहरीले दंगाललाई वेश्यालयमा लगेर बिक्री गरेको आरोपमा उनीहरूलाई मंसिर ९ गते पक्राउ गरेको थियो ।


  •  
  •  
  •