नक्सा पास बिना नै सरकारी कार्यालय भवन निर्माण

444
  •  
  •  
  •  

महोत्तरी, २८ बैशाख(ओएनएस) : महोत्तरी सदरमुकाम जलेश्वरस्थित आधा दर्जन सरकारी कार्यालयले नियमविपरीत आफ्नो भवन निर्माण कार्य अगाडि बढाएका छन् ।

New Building of Court mahottari
जिल्ला अदालत महोत्तरीको निर्माणाधिन भवन

नगरपालिका कार्यालयबाट नक्सा पास भएपछि मात्रै भवन निर्माण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला हुलाक, नापी, जिल्ला प्रशासन, जिल्ला स्वास्थ्यसहितका कार्यालयहरुको भवन निर्माण कार्य जारी छ ।

भवन आचारसंहिता अन्तर्गत सरकारी कार्यालयले समेत नगरपालिका कार्यालय वा गाविसमा नक्सा पास गराई भवन निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ ।

जिल्ला हुलाक कार्यालय महोत्तरीको निर्माणाधिन भवन
जिल्ला हुलाक कार्यालय महोत्तरीको निर्माणाधिन भवन

जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले जिल्ला प्रशासन, नापी, कोष तथा लेखा नियन्त्रण कार्यालयले नक्सा पासका लागि निवेदन दर्ता गरेपनि नक्सा पास तथा कर दाखिला अझैसम्म नगराएको बताए । उनले बैशाख ३० गते हुन लागेको जलेश्वर नगरपालिका कार्यालयको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरणमा यो विषय राखिएको जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि नगरपालिका कार्यालयबाट पत्र प्राप्त गरिसकेको दावी गरेका छन् । ‘जिल्लास्तरीय कार्यालय प्रमुखको बैठकमा अहिलेसम्म यो बिषय नै प्रवेश नभएकोले समस्या नै छैन भन्ने बुझिन्छ’, उनले भने, ‘आर्थिक सशक्तिकरणको लागि नगरपालिकाले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’ अन्य कार्यालयहरुसँग यस बिषयमा बुझ्न खोज्दा स्पष्ट जवाफ आउन सकेको सकेन ।

New Building of CDO mahottari
जिल्ला प्रशासन कार्यालय महोत्तरीको भवन निर्माणस्थल

नक्सा पास र स्वीकृती नलिई सरकारी वा नीजि भवन निर्माण गरेको पाइएमा स्थानीय स्वायत्त शासन ऐन अनुसार जरिवाना गर्ने तथा निर्माण भएको घर नै भत्काउन सक्ने प्रावधान रहेको छ । जलेश्वरमा निर्माण भइरहेको सरकारी कार्यालयको भवनहरुको अनुगमन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरले गरिरहेको छ ।

जलेश्वर नगरपालिका कार्यालयको प्राविधिक शाखाले सरकारी कार्यालयहरुबाट भइरहेको भवन निर्माण सम्बन्धी जानकारी नराखिनु तथा सरोकारवाला कार्यालयबाट समेत यस बिषयलाई गम्भीरता नलिइनुले कर नोक्सानी हुने गरेको देखिन्छ । साथै यसले नियमविपरीत कार्यलाई समेत प्रोत्साहन गरेको सहजै बुझ्न सकिन्छ ।


  •  
  •  
  •