मदन कोइराला :-
काठमाडौं, १४ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही साउन १८–१९ गतेसम्म नेपालको औपचरिक भ्रमण गर्दैछन् । मोदीको यो औपचारिक भ्रमण भए पनि यसलाई धार्मिक भ्रमणसमेत भनिएको छ । साउन १८ गते काठमाडौं आइपुग्ने मोदीले १९ गते सोमवार पारेर पुशपतिनाथको दर्शन र विशेष पुजा गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन मोदी मुलुकको प्रशिद्ध तीर्थस्थल जनकपुरधाम र भगवाव गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने तय भएको थियो । तर, उनी लुम्बिनी र जनकपुर भने नजाने भएका छन् । मोदीको भ्रमण तालिकाबाट लुम्बिनी भ्रमण हटाइएको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार सरकारसँग बुलेटप्रुफ गाडीको नभएको र सुरक्षा दिन नसक्ने भएकाले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण नहुने भएको हो । परराष्ट्रमन्त्रीले जे भने पनि गौतम बुद्धको जन्मथलो भारतमै रहेको भन्ने भारतीय दाबी मोदीले लम्बिनी भ्रमण गरेपछि कमजोर हुने भएपछि नेपाल सरकारले यस्तो निर्णय लिएको चर्चा भएको छ ।
संसदको परराष्ट्र सम्बन्ध समितिको बैठकमा मोदीको भम्रण सूची बारे जानकारी दिँदै परराष्ट्रमन्त्री पाण्डेले भने, ‘सरकारसँग बुलेटप्रुफ गाडी छैन, भएका गाडीको पनि कोही पंचर भएका छन्, कुनैको हावा खुस्किएका छन । यस्तो अवस्थामा उहाँको सुरक्षामा आँच आउँछ । त्यसैले हामीले मोदीको लुम्बिनी भ्रमण नगराउने भएका हौं ।’ उनले मोदीको लुम्बिनी नहुने अर्काे कारणा मौसम भएको बताएका छन् । उनले लुम्बिनी भ्रमण गर्ने भनिएको दिन मौसम खराव हुनेसक्ने बताए ।
मन्त्री पाण्डेको जवाफबाट उनकै दल एमालेका सभासद नै सबैभन्दा बढी आक्रोशित भए । सभासद सोमप्रसाद पाण्डेले बुलटप्रुफ गाडी छैन भन्दै लुम्बिनी भ्रमण स्थगित गर्नु देशकै बेइजत भएको उल्लेख गर्दै सरकारले सुरक्षा दिन नसक्ने सन्देश जानु दुर्भाग्यपुर्ण भएको बताए । ‘गाडी बिग्रेको, बुलेटप्रुफ गाडी नभएको र भएका गाडीको पनि हावा खुस्केको छ भन्नु कति जायज कुरा हो ? अन्य ठाउँमा जान सुरक्षा दिन सक्ने सरकारले लुम्बिनी भ्रमणमा जान किन सुरक्षा दिन सक्दैन ?’
कांग्रेस सभासद मीन विश्वकर्माले मोदीको लुम्बिनी भ्रमण स्थगित हुनका पछाडि गाडी वा मौसम कारण हुन नसक्ने भन्दै भारतले लुम्बिनी नजिकै विहारमा लुम्बिनीको सिम्बोल बनाएका कारण भ्रमण स्थगित भएको हुनसक्ने बताए । ‘बुद्ध भारतमा जन्मिएका हुन भनेर प्रचार गरिएको छ’, उनले भने, ‘यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीलाई लुम्बिनी भ्रमण गराएर बुद्ध नेपालमा जन्मिएको सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिनुपर्छ ।’
स्रंोतका अनुसार भारतीय दुवातावसको दबाबमा सरकारले मोदीको लुम्बिनी भ्रमण स्थगित गरेको हो । मोदी लुम्बिनी जाँदा अन्तर्राष्ट्रिय जगतमा बुद्ध नेपालमा जन्मिएको सन्देश जाने भएकाले मोदीको लुम्बिनी भ्रमण स्थगित भएको हो ।