मोदी भ्रमण : पशुपतिको यात्रा सिद्राको व्यापार ?

267
  •  
  •  
  •  

काठमाडौ,  (ओएनएस) : प्रधानमन्त्रीको सपथ ग्रहण गरेको सय दिन नपुग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदै छन् । १७ वष सम्म कुनै पनि प्रधानमन्त्रीले चासो नजनाएको नेपाल भ्रमणमा मोदीको ‘हतारो’ले आम नेपालीलाई एक प्रकारले आश्चर्यमा पारेको छ । के मोदीले नेपाललाई यति धेरै महत्व दिन्छन ? कुटनीतिक मामिलाका जानकारहरुको बिचारमा मोदीको भ्रमणको मुख्य प्राथमिकता द्विपक्षीय हितको विषयमा कुरा गर्नु भन्दा पनि पशुपतिको दर्शन गर्नु नै हो ।

Narendra-Modi

जबाहरलाल नेहरु विश्वबिद्यालयमा पीएचडी गरेका एकजना राजनीतिक कार्यकर्ताले मोदीको नेपाल भ्रमणलाई चलनचल्तीको नेपाली उखानसंग तुलना गर्दै भने ‘पशुपतिको यात्रा सिद्राको व्यापार !’ प्रधानमन्त्रीका रुपमा मोदी ‘हनिमुन’ पिरेड मनाइरहेका छन् । र, भारतमा अहिले पनि नौलो प्रधानमन्त्री छन् । यद्यपि पशुपतिको यात्रासँगै हुने ‘सिद्रा’ व्यापारको भने टुंगो लागिसकेको छैन, पर्याप्त गृहकार्य नभएको र चरम विबादमा परेको उर्जा व्यापार सम्झौता बाहेक ।

किन रोजे यो समय ?

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका लागि किन यो समय रोजे भन्ने कौतुहलता आम नेपालीको मनमा छ । सनातन हिन्दु धर्मप्रति अगाढ आस्था राख्ने मोदीका लागि ‘साउने सोमबार’ सबैभन्दा अनुकुल समय हो । साउनको सोमबार भगवान शिवजीको पूजागर्दा ठूलो पुण्य मिल्ने धार्मिक विश्वास छ, । मोदीको गृहनगरका औषत नागरिकको एउटा इच्छा हुन्छ – जीवनमा एकपटक पशुपतिको दर्शन गर्नु । संयोग मात्र हुनसक्छ, राज्यका अन्य निकायको तुलनामा पशुपति क्षेत्र विकास कोषले मोदी भ्रमणको तयारीलाई दिएको तीब्रता ।

नेपालको संक्रमणकालीन राजनीतिले कुनै आकार लिइसकेको छैन । यसअघिका प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालका समकक्षीसँगको भेटमा नयाँ संविधान बनेपछि नेपाल भ्रमण गर्ने बताएका थिए । तर मोदी संविधान नबन्दै आउन हतारिए । संविधान निर्माणको काम भइरहेको समयमा सामान्यतया कुनै देशको भ्रमण नगर्ने परंपरा छ । यस्तो बेला सरकार प्रमुखले भ्रमणगर्दा आफ्नो स्वार्थ लाद्न खोजेको कुटनीतिक अर्थ पनि लाग्न सक्छ ।

‘विइनिङ द हार्ट अफ द पिपुल’

त्रिबिमा राजनीति शास्त्रका उपप्रध्यापक एवं दक्षिण एसिया मामलाका जानकार दीपक गजुरेल परम्परागत विदेश नीतिमा परिवर्तनको संकेत स्वरुप मोदीले नेपाल भ्रमण गर्न लागेको विश्लेषण गर्छन् । ‘कर्मचारीतन्त्र र खुफीया एजेन्सीको हालीमुहाली रहेको नेपाल सम्बन्धलाई राजनीतिक चरित्रमा रुपान्तरण गर्ने मोदीको चाहाना बुझन सकिन्छ’ उनले भने । नेपाल मामिलामा खुफीया एजेन्सी हावी भएको सबैजसो भारतीय राजनीतिक दलको समान धारणा रहेको बताइन्छ ।

आफ्नो सपथ ग्रहण समारोहमा छिमेकी देशका सरकार प्रमुखलाइ आमन्त्रण गरेर मोदीले नयाँ सम्बन्ध स्थापित गर्न खोजेको देखिन्छ । “यसले जे गर्दा पनि राम्रो गर्छ भन्ने भ्रम या जनताको विश्वास जित्ने ‘विइनिङ द हार्ट अफ द पिपुल’ रणनीति पनि हुन सक्छ” गजुरेल भन्छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका पूर्व सभापति सोमप्रसाद पाण्डे लामो समयको अन्तरालमा भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नु नै महत्वपूर्ण भएको बताउँछन् । मोदीको नेपालप्रतिको चासो र सद्भावलाइ नेपालको पक्षमा पार्न सक्नुपर्ने उनले बताए । ‘बिगत देखी अल्मलिएका धेरै विषय छन्, नेपालको हितका विभिन्न पक्षमा छलफल गर्न सकिन्छ’ पाण्डेले भने ।

नेपाललाई फाइदै फाइदा !

प्रधानमन्त्री मोदीको भ्रमणका खास एजेण्डा सार्वजानिक भएका छैनन् । नेपाल सरकारले पूर्व पश्चिम रेलमार्ग र एउटा जलाशययुक्त आयोजना निर्माणका लागि भारतसँग आग्रह गर्ने सम्भावना छ । उपयुक्त प्रस्तावमा भारत सकारात्मक नबने पनि मोदीको भ्रमणले नेपाललाई भने फाइदै फाइदा पुग्नेछ ।
प्रधानमन्त्री मोदीको भ्रमणको उद्देश्य पशुपतिको भ्रमण गर्नु नै रहेछ भने पनि त्यसले नेपाललाई फाइदा हुनेछ । पश्चिमा राष्ट्रका पर्यटक नआएर पर्यटक भित्राउने सरकारी लक्ष पूरा नभएको अवस्थामा मोदीको भ्रमणपछि नेपालमा भारतीय पर्यटकको आगमनमा बढोत्तरी हुनेछ । बेरोजगार भत्ता पचाउन आउने गुणस्तरहीन पर्यटकको तुलनामा भारतीय पर्यटकले नेपालमा धेरै खर्च गर्ने गरेको पर्यटन व्यवसायीको भनाई छ ।

एउटा नौलो दृष्य !
सामान्यतया नेकपा माओवादी, राप्रपा नेपाल, नेमकिपा र राष्ट्रिय जनमोर्चा लगायतका दल नेपालको राजनीतिमा भारतको अनावश्यक हस्तक्षेप भएको बताउने गर्छन् । माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मोदीको नेपाल भ्रमणको समयमा साउन १८, १९ मा शान्ति बाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम राखिसकेका छन् । अन्य बेला नेपालको राजनीतिमा भारतीय हस्तक्षेपको आरोप लगाउने राप्रपा नेपालले मधेशवादी दललाई उछिन्दै मोदीको भ्रमणको स्वागत गरेको छ ।


  •  
  •  
  •