नेपाल नीतिका कारण पनि हटाइन् भारतीय विदेश सचिव सुजाता

212
  •  
  •  
  •  

sujatha_jaishankarकाठमाडौ, १६ माघ(ओएनएस) : गत बुधबार भारतको विदेश मन्त्रालयको सर्वोच्च पद विदेश सचिवबाट सुजाता सिंहले राजीनामा दिएपछि भारतको माहोल निकै गरम भएको छ । करिब ७ महिना कार्यकाल बाँकी रहँदा उनले किन राजीनामा दिइन् भन्ने प्रश्नले सबैको ध्यान तानेको छ । उनको स्थानमा अमेरिकाका लागि भारतीय राजदुतको काम गरिरहेका तथा चीनको राजदुतको रूपमा काम गरिसकेका एस जयंशकरलाई नियुक्त गरिएको छ । केही समयअघि देखिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुजाताको काम गर्ने शैली मन नपराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले पनि उनको राजीनामाले निकै चर्चा बटुलेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री मोदी र सुजाताबीच करिब दुई महिनाअघि ब्रिक्स सम्मेलनका क्रममा दूरी बढेको थियो । उनी आफ्नो कार्यकालमा अन्तराष्ट्रिय सम्बन्धलाई सुधार गर्न चाहन्छन्, तर सुजाताले उनले चाहेजसरी काम गर्न सकेकी थिइनन् ।

सुजातालाई छिमेकी देशमा कामकाजको राजनैतिक अनुभव थिएन र नेपाल लगायत अन्य मुलुकबारे बनाउनुपर्ने नीतिका विषयमा पनि खास ज्ञान नभएकाले उनलाई हटाएर अनुभवी व्यक्तिलाई मोदी ल्याउन चाहन्थे । उनको नजर जयशंकरमाथी प्रधानमन्त्री भएदेखी नै थियो ।

भारतीय सञ्चारमाध्मयहरूका अनुसार मोदी नेपाललगायत भूटान तथा वर्माका सम्बन्ध विषेश नीति ल्याउन चाहन्छन् । तर, चाहेजस्तो नीति तथा योजना तर्जुमा गर्न सुजाता असफल रहेका कारण उनले जयशंकरलाई नियुक्त गरेका हुन् । खासगरी चीन र अमेरिकासँग राम्रो सम्बन्ध स्थापित गर्न सफल भएका जयंशकरलाई विदेश सचिवमा नियुक्त गरेपछि उनले चीन र अमेरिकासँगको सम्बन्धसहित नेपाल लगायतका चीनसँग विषेश सीमा जोडिएका साना देशहरूलाई आफ्नो प्रभावमा पार्न सकिने उनको अनुमानसहित जयशंकरलाई नियुक्त गर्ने निर्णय लिएको हुन सक्ने भारतीय सञ्चारमाध्मयहरूको भनाइ छ । यस हिसाबले मोदी नेपाल तथा चीनसँग सीमा जोडिएका अन्य मुलुकसँगको सम्बन्ध र ती देशहरुमा अख्तियार गरिने आगामी योजनालाई सुदृढ नीति बनाएर अगाडि बढ्न चाहन्छन् । जसले आफ्नो प्रभाव ती देशहरूमा कायम राख्न सहज हुनेछ ।

चीनका राष्ट्रपति शी जिङपिङको भारत भ्रमण र मोदीको नेपाल भ्रमणका क्रममा रहेका भ्रमहरूका कारण पनि मोदी सुजातासँग सन्तुष्ट थिएनन् । नेपाल भ्रमणका क्रममा पनि केही भ्रमहरू सिर्जना भएका कारण पनि उनी सुजाताप्रति सकारात्मक थिएनन् । नेपाल भ्रमणका क्रममा लुम्बिनी भ्रमण गर्ने या नगर्ने भन्ने विषयमा पनि सुजाताले स्पष्ट नीति लिन सकेकी थिइनन् । यसले निकै चर्चा समेत पाएको थियो । यस्तै भारत-पाकिस्तानका विदेश सचिवबीचको छलफल रद्ध गरेको विषयमा समेत भ्रम सिर्जना भएको थियो ।

यसकारण पनि मोदीले सुजातालाई हटाउन चाहेका थिए भने प्रधानमन्त्री भएदेखिनै उनले नजर लगाएका जयशंकरलाई सुजाताको ती गल्तीलाई आधार बनाएर ल्याउन सहज बाटो पाएका थिए । तर, विदेश मन्त्री सुष्मा स्वराज भने यस निर्णयबाट खुसी छैनन् । मोदीले आकस्मिक रूपमा मन्त्रीपरिषद् बैठकमा यस्तो निर्णय सुनाएपछि विदेशमन्त्री स्वराज पनि उक्त निर्णयप्रति खुसी नदेखिएको भारतीय सञ्चारमाध्मयहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुजाताको अझै ७ महिना कार्यकाल बाँकी थियो तर, उनलाई प्रधानमन्त्री मोदीले समयअगावै राजीनामा गर्न लगाएका हुन् । उनलाई राज्यपाल या अन्य कुनै ठूला पद दिने आश्वासन दिँदै राजीनामा गर्न लगाइएको बताइएको छ । यस्तै, नवनियुक्त विदेश सचिव जयशंकरको यही जनवरी ३१ देखी कार्यकाल सकिँदै थियो । प्रधानमन्त्री मोदी विदेशको मामलामा जानकार र राम्रो सम्बन्ध राख्नका लागि यस विषयमा निपुण व्यक्ति विदेश सचिवका रूपमा ल्याउन चाहन्थे र उनले जयंशकरलाई अवकाश हुनुअगावै विदेश सचिवमा नियुक्त गर्नका लागि सुजातालाई राजीनामा गर्न लगाएको बताइएको छ । यस्तै, जयंशकरलाई नियुक्त गरेपछि उनको कार्यकाल स्वतः २ वर्ष बढ्नेछ ।

भारतीय सञ्चारमाध्मयको सहयोगमा


  •  
  •  
  •