काठमाडौं, १८ असार (ओएनएस) । संविधान सभाको प्रमुख राजनीतिक दल नेपाली कांग्रेका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला देश बाहिर रहेको तथा नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको समयमा एकीकृत माओवादीलगायतका ५ बामपन्थी दलले हतारमा ‘कार्यगत एकता’को घोषणा गरे । संविधानसभा उप निर्वाचनमा एकीकृत माओवादीको हैसियत खस्किनु बाहेक हतारमा कार्यगत एकता घोषणा गर्नुपर्ने राजनीतिक परिस्थिती जन्मिएको छैन् ।
संविधान जारी गर्ने मिति नजिकिदै गर्दा माओवादी ‘जनयुद्ध’का समयमा एकै ठाउमा रहेका वामपन्थी दलले ‘जन’ संविधानका लागि दवाव सृजनागर्न भन्दै कार्यगत एकताको घोषणा गर्दा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल शसंकीत भएका छन् ।
संविधान जारी गरे पनि आफ्नो पार्टीको हैसियत खस्किँदै जाने अवस्थामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधान बनाउन भन्दा संविधानसभा बाहिर आन्दोलनमा जाने संभावना बढ्दै गएको छ । ‘संविधान बनाएको जस लिएर बाबुराम पार्टीवाट अलग्गिदै छन् भन्ने बुझेर दाहालले संविधान निर्माण प्रक्रिया अबरुद्ध गर्न खोज्दैछन्’, नेकपा एमालेका एकजना युवा नेताले भन्छन्, ‘आफ्नो पार्टी मोहन बिक्रम सिंहको जनमोर्चा बनाएर दाहालले संविधान बनाउदैनन् ।’
यद्यपि १२ असारमा संसदको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा एकीकृत माओवादीका बरिष्ठ नेता समेत रहेका संवैधानिक राजनीतिक समितिका सभापति डा बावुराम भट्टराईले संविधान जारी गर्न दाहालको समर्थन रहेको दावी गरेका थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पाँच वामपन्थी दलको कार्यगत एकता कांग्रेस, एमालेसँग ‘वार्गेनिङ पावर’ बढाउनु मात्र रहेको दावी गर्छन ।
‘माओवादीबाट छुटिट्एर गएकाले पनि केही गर्न सकेनन, दाहाल पनि झन–झन कमजोर बन्दै गए, यहीबेला एकता भएको हो’, केसी भन्छन्, ‘जातीय संघीयतामा अत्तो थापेर संविधान जारी गर्न नदिन मोर्चा गठन भयो ।’
नेकपा एमालेकी उपाध्यक्ष बिद्या भण्डारी माओवादी मोर्चावन्दीले संविधान जारी गर्न नरोकिने बताउँछिन् । ‘हामी पनि जनताको पक्षमा संविधान लेख्न आएको हो, तर उनिहरूले भने जस्तो जन संविधान बन्न सक्दैन’, भण्डारी भन्छिन्, ‘नेपालको भौगोलिक विशिष्ठतालाई ख्याल नगरी हचुवाका भरमा संघीयता पनि हुदैन ।’ माओवादी गठबन्धन जातीय संघीयताका पक्षमा अर्घेल्याइँ गर्न भएको भण्डारीको बुझाइ छ ।
नेपाली कांग्रेसका नेता बलबहादुर केसी संविधानसभामा लोकतान्त्रिक शक्तिको बाहुल्यताका कारण माओवादीहरू अत्तालिएर गठनबन्धन बनाएको दावी गर्छन् । ‘सहमतिमा नभए प्रक्रियामा गएर भए पनि संविधान बन्ने देखेपछि माओवादीहरू गठबन्धन बनाउन लागे’, कांग्रेस नेता केसी भन्छन्’, ‘बहुमतको आतंकले हतारमा गठबन्धन बनाइयो ।’
दाहाल पक्षीय युवा नेता सुदर्शन बराल संविधानसभाबाट प्रगतिशील संविधान जारी नहुने अवस्थामा आफ्नो पार्टी संविधानसभाबाट अलग्गिने संभावना रहेको बताउछन् । ‘हाम्रो पार्टी संसदीय भासमा फस्यो भन्ने कतिपयको विश्लेषण गलत छ, संविधान नबन्ने अबस्थामा एमाओवादी संविधान सभामै कुरेर बस्छ भन्ने धारणा गलत हो ।’
‘बाबुराम–काजीको भकारो खाली’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी कार्यगत एकताको अर्थ बिस्थारै पार्टी एकताको पृष्ठभूमि बन्दै गएको विश्लेषण गर्छन् । ‘फूटेर गएकाले पनि खुबी देखाउन सकेनन, र प्रचण्डहरू पनि निकै कमजोर भए’, केसी भन्छन्, ‘एकताका लागि पृष्ठभूमि तयार गर्न कार्यगत एकता भनिएको हो ।’ दाहाल र मोहन बैद्यहरूको एकताको अर्थ ‘बाबुराम– नारायणकाजीको भकारो खाली’ हुदै गरेको केसीको बुझाइ छ