अर्थमन्त्री चीन किन गए ?

185
  •  
  •  
  •  

काठमाडौँ, २१ साउन (ओएनएस) :  अर्थमन्त्री डा रामशरण महत चीनको औपचारिक भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा उनी बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।

नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सद्भाव जुटाउने उद्देश्यले भ्रमण तय भएको अर्थमन्त्रालयले जनाएको छ । चीनसँगको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने, दुवै मुलुकका अन्य पारस्परिक हितका विषयमा छलफल हुने कार्यक्रम रहेको अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिए । भारतसँग मात्र होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको छ । नेपालको चीनतर्फको निर्यात दुई अर्ब ५३ करोड र आयात ६८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने व्यापार घाटा ६५ अर्ब रहेको छ । अर्थमन्त्री डा महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गर्नाेछन् ।

यसैबीच, यस क्षेत्रको पूर्वाधार विकासको क्षेत्रमा व्यापक लगानी गर्ने उद्देश्यका साथ चीनको अगुवाइमाएसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको स्थापना हुन लागेको छ । नेपालले सो बैंकको संस्थापक सदस्य बन्ने निर्णय गरिसकेको छ । सहसचिव मधकुमार मरासिनीको नेतृत्वमा रहेको अर्थमन्त्रालयका अधिकारीको एक टोलीले उक्त बैंकको चौथो बहुपक्षीय परामर्श बैठकमा पनि भाग लिने कार्यक्रम तय भएको छ । विगत लामो समयदेखि नेपालका अर्थमन्त्रीले चीनको भ्रमण नगरेको पृष्ठभूमिमा अर्थमन्त्री डा महतको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । अर्थमन्त्री महत आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •