काठमाडौ, ९ माघ(ओएनएस) : नेपाल निजामती कर्मचारी युनियका विभिन्न केन्द्रिय पदाधिकारीहरुले निजामती कर्मचारीमा व्याप्त भ्रष्टाचार भएको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित संवाद कार्यक्रममा उनीहरूले सरकारले कर्मचारीलाई पर्याप्त मात्रामा सेवा सुविधा दिने हो भने भ्रष्टाचार आफैं न्यूनिकरण हुने बताएका छन् ।
नेपाल निजामति कर्माचारी संगठन अध्यक्ष पुण्य प्रसाद ढकालले निजामती कर्मचारी क्षेत्रमा भ्रष्टाचार भएको स्विकार गर्दै सरकारले कर्मचारीहरुलाई हाल दिएको सुविधामा बृद्धी गर्नु पर्नेमा जोड दिनु भयो । ‘भ्रष्टाचार छानविन गर्ने निकायहरुमा समेत भ्रष्टाचार हुने गरेको छ ।’, उनले भने, ‘निजामती ऐनमा उल्लेख गरिका विषयहरुले व्यवहारमा लागूको मौका नपाएको र हाल पनि सिमित व्यक्तिहरुकै हालिमुहाली चलेकाले निजामती कर्मचारी पेलाईमा परेका छन् ।’
नेपाल निजामती कर्मचारी युनियनका महासचिव जित बहादुर मडैले निजामती सेवामा देखिएको भ्रष्टाचार न्युनिकरण गर्न नागरिक सचेत हुने पर्ने बताए । उनले निजामती सेवामा लामो प्रक्रियाका कारणले पनि सेवाग्राहीले सास्ती बेहोर्नु परेको र भ्रष्टाचार बढेको बताए ।
त्यस्तै, कार्यक्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव वीरेन्द्र बस्नेतले नेपालका निजामती कर्मचारीहरुको तलवले केहि गर्न नपुग्ने भएकाले समेत भ्रष्टाचार बढेको बताए । उनले भने, ‘बजार भाऊ बढ्दा कर्मचारीको तलब बढ्दैन गास, बाँस र कपासको अभावले समेत नेपालको निजामती कर्मचारीहरु बाध्य भएर भ्रष्टाचार गर्नु परेको छ ।’