‘चरी’को मृत्यु पछाडिको रहस्य के थियो ?

365
  •  
  •  
  •  

काठमाडौ, २२ साउन (ओएनएस) : गुण्डा नाइके एवं नेकपा एमालेका जिल्ला स्तरिय कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ को मृत्युको बिषयलाई लिएर यतिबेला सिंगो मुलक तरंगित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सिन्धुपाल्चोकको जुरे पहिरो पछि यतिवेला ‘चरी’ मारिएको प्रसंग चर्चाको बिषय बनेको छ ।

गृहमन्त्रालय समेत सम्हालेको एमालेका लागि ‘चरी’ प्रकरण कठिन बिषय बनेको छ । सबैभन्दा अप्ठ्यारो गृहमन्त्री वामदेव गौतमलाई भएको छ । गृह प्रशासनको जिम्मा लिएका गौतमले प्रहरी कार्वाहीको जिम्मेवारी लिने वा एमाले उपाध्यक्षको हैसियतमा कार्यकर्ता हत्याको विरोध गर्ने ?
चरिको मृत्युको बिषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रीत प्रतिकृया सार्बजनिक भएका छन् ।

नेकपा एमालेले चरिको मृत्यु प्रहरी संगको मुठभेडमा नभइ नियोजित हत्या भएको दावी गरेको छ । अध्यक्ष केपी ओलीले छानविन समिति गठन गर्न माग गरेका छन् । नेकपा एमाले धादिङका ३ जना सभासदले संसदको बैठकमा जोडदार कुरा राखेपछि सभामुख सुवासचन्द्र नेम्वांगले सरकारको जावफका लागि रुलिङ समेत गरिसकेका छन् ।  एमालेका सभासद्  राजेन्द्र पाण्डेले बिहिवार संसदको बैठकमा घटना छानविनका लागि समिति गठन नगरिए संसद अबरुद्ध गर्ने सम्मको चेतावनी दिए ।

‘आठवटा गोली लागेर मारिएको भनिए पनि घटनास्थलमा रगत छैन, यसले घटना रिंगरोड भीत्र भएको र हत्या गरेर शव भीमढुङ्गामा लगिएको हो’ पाण्डेले संसदमा गम्भीर प्रश्न गरेका छन् । एमाले धादिङका पूर्व अध्यक्ष समेत रहेका सभासद् गुरु बुर्लाकोटीले घटना भएको स्थानमा पाँच राउण्ड मात्र गोली चलेको स्थानियको भनाइ उदृत गर्दै प्रश्न गरेका छन ‘भीडन्तमा घाइते भएको प्रहरी को हो र कहाँ छन ?’

‘चरी’को मृत्यु पछाडी उनकी प्रेमीका खुश्वु ओलीका पूर्व प्रेमीको समेत संलग्नताको आशंका कतिपयको छ । खुश्वु स्वयंले ‘चरी’को हत्या रहस्यमय रहेको र विगत देखी नै मार्ने धम्की आएको बताएकी छन् । सभासद्  पाण्डेले जनाए अनुसार ‘चरी’ले बिवाहको तयारी गरेका थिए, त्यही रोक्न जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा कार्यरत कुनै प्रहरी अधिकारीले धम्की दिएका थिए ।

सभामुखले घटनाबारे संसदमा जानकारी गराउन रुलिङ गरिसकेका कारण ‘चरी’ मृत्युको सम्बन्धमा सरकारको आधिकारिक धारणा कुर्न शुक्रवार सम्म धैर्य गर्नुपर्नेछ ।


  •  
  •  
  •