भाइटीका गर्नुको कारण र विधी

422
  •  
  •  
  •  

काठमाडौँ, कात्तिक(ओएनएस) : यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गर्छन् ।

किन गरिन्छ भाइटीका ?
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले, यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन् । त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमराज यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेला देखी भाइटीकाको प्रचलन रहेको विश्वास गरिन्छ ।

यस्तै भाइटीका गर्नाले दाजुभाइको आयु लामो हुने विश्वास गरिन्छ । जसरी मखमलीको फूल औलाउँदैन त्यसरी दाजुभाइको जीवन पनि सधै हराभरा रहन्छ र जबसम्म दाजुभाइलाई घेरा हालेको तेल सुक्दैन तबसम्म यमराजले पनि केही गर्न सक्दैनन् भन्ने विश्वास गरिन्छ ।

के भाइटीकाको विधी ?
लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा भाइटीकालाई लिइन्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिन्छन् । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमलीको माला, दूबो तथा सयपत्री, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ ।
सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखर फोर्ने र यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ ।

दाजुभाइको शिरमा तेल लगाएर फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गर्नुपर्छ । यसक्रममा पहिले कुममा, घुँडामा, काखमा क्रमश फुलले पूजा गर्नुपर्छ । त्यसपछि निधारमा सप्तरंगी टीका लगाइदिनुपर्छ ।

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने गर्छन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । यसपछि दाजुभाइले दिदीबहिनीलाई पनि सप्तरंगी टीका लगाइदिएर उपहार दिने गर्छन् ।


  •  
  •  
  •