को हुन् मुख्य सचिव बनेका सोमलाल ?

130
  •  
  •  
  •  

सोमलाल सुवेदी
सोमलाल सुवेदी

काठमाडौ, २० साउन(ओएनएस) : निजामति प्रशासनको सबैभन्दा तल्लो तह खरिदारबाट आफ्नो जागिरे जीवन सुरू गरेका डा. सोमलाल सुवेदी प्रशासनको माथिल्लो तह मुख्य सचिवसम्मको यात्रा गर्न सफल भएका छन् । करिब ३२ वर्षअघि निजामति सेवामा प्रवेश गरेर शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा बढुवा भएका थिए ।

उनले लामो समयसम्म स्थानीय विकास मन्त्रालयमा काम गरेका थिए भने केही जिल्लामा स्थानीय विकास अधिकारीको रूपमा समेत काम गरेका थिए । उनले अर्थ मन्त्रालयको वैदेशीक सहायता समन्वय महाशाखाका उपसचिव तथा सहसचिव समेत भएर काम गरिसकेका छन् ।

उनले विदेशी दातृ निकायका साथै आईएनजीओहरूसँग निकै निकट रहेका काम गरेका थिए । विदेशी दातृ निकाय र आईएनजीओहरूसँगको निकट भएर काम गरेका कारण उनले अन्तराष्ट्रीय सम्बन्धलाई पनि थप मजबुत बनाउन सफल भए भने अन्तराष्ट्रिय स्तरमा समेत आफूलाई प्रस्तुत गर्न सफल भएका थिए ।

उनले यही माध्यमबाट धेरै पटक विदेश भ्रमणको मौका समेत पाएका छन् । उनका निकटमा रहेर काम गरेकाहरुले पनि उनलाई विदेश भ्रमणको लत नै लागेको समेत भन्ने गरेका थिए । उनी जुनसुकै जिम्मेवारी निर्वाह गरिरहेपनि उनी दातृ निकायका कार्यक्रममा पुगेकै हुन्थे । विदेशी दाता र आईएनजिओसँगको हिमचिमका कारण पनि उनलाई विदेशी दाताका एजेन्डाप्रति आशक्त भएको आरोप समेत लाग्ने गरेको छ ।

विदेशी दातृ निकायका प्रोजेक्ट(परियोजना)हरूमा काम गरेका कारण उनले पैसा भने निकै खेलाउन पाएका थिए । उनले विदेशी निकायबाट चल्ने एलजिसिडिपी परियोजनामार्फत आएको करिब १४ अर्ब रकम उनले नै परिचालन गरेका थिए । उक्त योजनालाई देशव्यापी परिचालन गर्ने क्रममा उनले त्यति ठूलो रकम परिचालन गर्ने अवसर पाएका हुन् ।

उनलाई सचिवका लागि कसैले पत्याएका थिएनन् । उनले निकै लामो समय सहसचिवमा नै रहेर काम गरे अझ भनौ सचिव हुनका लागि लामो समय कुरे । यसकारण पनि उनीभन्दा कनिष्ठ सहसचिवहरूले अवकाश पाइसकेका थिए, तर उनी भने लामो समय सहसचिवमा रहेर सचिवमा बढुवा भएकाले अनुभवका कारण मुख्य सचिवसम्म पुग्न सफल भएका हुन् ।

उनले सबै राजनीतिक दललाई खुसी राख्न सफल छन् । एमालेको लबिङबाट सचिवसम्म पुगेका उनलाई पछिल्लो समय कांग्रेसका विश्वासपात्रका रूपमा लिइन्छ । प्रधानमन्त्रीका प्रशासनिक मामिला सल्लाहाकार समेत रहेका बाबुराम आचार्यका कारण पनि उनलाई यो सफलता हात लागेको हो । आचार्यसँगको सम्बन्धका कारण उनले स्थानीय विकास मन्त्रालयजस्तो शक्तिशाली मन्त्रालयमा लामो समय रहेर काम गर्ने मौका पाएका हुन् ।

स्थानीय विकास मन्त्रालय रहेर आफ्नो प्रभुत्व जमाउन उनी सफल भएका थिए । उनले स्थानीय विकास मन्त्रालयमा पाएको भूमिकालाई सदुपयोग गरेर मन्त्री सिंहलाई खुसी पार्न सफल भए भने कांग्रेसको नजरमा समेत राम्रो देखिए । प्रकाशमान सिंहले सुशील कोइरालालाई सभापति बनाउन प्रमुख भूमिका खेलेकाले उनको कांग्रेसमा राम्रो स्थान छ र सिंहलाई खुसी पारेपछि कांग्रेस खुसी हुनु स्वभाविक पनि हो ।

उनले एमालेको दवावमा सचिव पद पाएका हुन् । एमालेमा राम्रो छाप छाडेका उनी पछि कांग्रेसमा ढल्किएपनि एमालेको एक तप्कामा सुमधुर सम्बन्ध बनाईराख्न सफल भएका छन् । यसैले पनि उनले एइमालेबाट मुख्य सचिव हुनका लागि कुनै अफ्ठ्यारो बेहोर्नु परेन । यस्तै, बाबुराम प्रधानमन्त्री भएका बेलामा पनि उनले बाबुरामसँग निकै निकट भएर काम गरेका थिए । यस समयमा उनले बाबुराममाथि पनि राम्रो छाप छाडेका कारण अहिले उनलाई मुख्य सचिव बन्न निकै सहज भएको बताइन्छ ।

सुवेदीले स्थानीय विकास मन्त्रालयमा रहेर एलडियो नियुक्तीमा निकै ठूलो भूमिका निर्वाह गरेका थिए । एलडियो नियुक्तीका क्रममा मन्त्री सिंहमाथि एलडियो नियुक्तिमा कांग्रेसीकरण गरेको आरोप पनि लागेको थियो तर, यी सबै काम उनको प्रत्यक्ष संलग्नतामा भएको थियो । तर, उनले यसको अपजसजति प्रकाशमान सिंहलाई थोपरे तरपनि उनले सिंहलाई खुसी भने बनाइराखे । उनले गरेको सहजीकरणले प्रकाशमान सिंह पनि खुसी भए र कांग्रेसपनि । यसले उनलाई मुख्य सचिव बन्न बलियो आधार बनायो ।

उनी निकै हल्का बोल्ने, अव्यवहारिक सचिव हुन् । उनले आफ्नो काममा परिपक्क र गम्भीरता प्रदर्शन गर्न नसकेको उनकै समकक्षीहरूले बताउँदै आएका थिए र उनको काममा पनि त्यो झल्किँदै आएको थियो । उनी बढूी बोल्ने र अरूले गरेको काममा जस लिन सक्ने खुबी भएका सचिवमा गनिन्छन् ।

उनी अव्यवहारिक, परिपक्कता र गम्भिरता प्रदर्शन गर्न नसक्ने भएकाले उनलाई समकालिन सचिवहरूले नटेर्ने सम्भावना रहेको छ । यसकारण उनलाई काम गर्न पनि केही अफ्ठ्यारो हुने देखिन्छ ।

मुख्य सचिवले मन्त्री परिषद्को बैठकमा बोल्न पाइँदैन । मन्त्री परिषद्ले निर्णय गरेको कुरालाई टिप्ने काम हुन्छ मुख्य सचिवको तर, उनको बानी पहिलेदेखी नै मन्त्रीलाई तल देखाएर बोल्ने बानी छ । यसले उनलाई काम गर्न केही असहज हुन सक्छ । उनले आफ्नो बानीलाई सुधार्नुपर्ने देखिन्छ । यो उनका लागि चुनौती नै हो ।

उनको सम्बन्ध विदेशी दातृ निकायसँग राम्रो भएको कारण उनले देशको राष्ट्रिय हितको विषयमा आघात पुर्याएर काम गर्न सक्ने आशंका पनि व्यक्त भएका छन् । विषेशगरी गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा उनीबारे यस्तो चर्चा हुने गरेको स्रोतको भनाई छ ।

यति हुँदाहुँदै उनी अध्ययनशील र गाउँले परिवेशका भएका कारण उनलाई काम गर्न सहजक हुनेछ । उनी संघर्ष गर्न सक्ने सचिव भएका कारण उनले आफ्नो मुख्य सचिवको जिम्मेवारीलाई सहज ढंगले पुरा गर्न सक्छन् भन्ने आकलन पनि गरिएको छ । देश संघियताको बाटोमा लागिरहेका बेला उनको अध्ययनले उनलाई यसतर्फ काम गर्न सहज हुनेछ । उनले वित्तीय विकेन्द्रीकरणमा पिएचडी नै गरेका छन् । उनको यो विज्ञता विकेन्द्रीकरणमा निकै उपयोगी हुनेछ । उनले अबको तीनवर्षसम्म देशको मुख्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।


  •  
  •  
  •