गाजाको अस्पताल श्मशान घाटजस्तै : डब्लूएचओ

123
  •  
  •  
  •  

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल ‘झन्डै श्मशान घाट’ जस्तै भएको बताएको छ ।

उत्तरी गाजामा रहेको अल-शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ ।

आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ । तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन् ।

डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ ।

अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन् ।

उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन् । इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ ।

विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए । बीबीसीसँगको कुराकानीमा उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन् ।


  •  
  •  
  •