डिभिजन २ जिते के पाउँछ नेपालले ?

162
  •  
  •  
  •  

काठमाडौ, ३ माघ(ओएनएस) : आजबाट आईसीसी विश्व लिग डिभिजन २ सुरू हुँदैछ । उक्त लिगमा विजेता बन्दै डिभिजन १ मा पुग्ने लक्ष्यका साथ नेपाल पनि भिड्दै छ । नेपालले आज पहिलो खेलमा युगाण्डाको सामना गर्नेछ ।

नेपाललाई डिभिजन १ मा पुग्ने सपना पुरा गर्न त्यति सहज भने छैन् । डिभिजन १ मा पुग्नका लागि युगाण्डा, नामिबिया, केन्या, नेदरल्याण्ड र क्यानडा जस्ता देशलाई पाखा लगाउनुपर्ने हुन्छ । तर, पनि पछिल्लो समयमा नेपाली क्रिकेट निकै राम्रो भएको र तयारी पनि राम्रो भएको बताइरहँदा लिग जित्ने सम्भावना पनि कमजोर रहेको भन्न भने सकिँदैन । पछिल्लो समय प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालीको प्रशिक्षकमा पुन म्याद थप गराउनु र क्रिकेट खेलाडीलाई आकर्षक सरकारी तलबमा राख्नुले पनि नेपाली खेलाडीको मनोबल थप बलियो भएको छ । यस्तै, दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले गरेको प्रदर्शन हेर्ने हो भने पनि नेपालको तयारी राम्रो भएको र दक्षिण अफ्रिकामा भएको अन्तिम अभ्यास खेलमा कप्तान पारस खड्काको शतक प्रहार गर्नुले नेपाली खेलाडीलाई थप हौसला प्रदान गरेको छ ।

यस्तोमा नेपाल डिभिजन १ मा पुग्ने सक्ने संभावनाको सूचीमा अग्रस्थानमा नै देखिन्छ । यदी नेपाली टोली डिभिजन १ मा पुग्न सके नेपालले धेरै फाइदा पाउनेछ । अझ भनौ नेपाली क्रिकेटमा नयाँ अध्याय नै सुरू हुनेछ ।

यदी नेपाली टोली डिभिजन २ को शीर्ष दुईमा परे आगामी चार वर्षको लागी नेपालले एकदिवसीय मान्यता पाउनेछ । यो उपलब्धीपछि नेपालले डिभिजन १ का ६ राष्ट्र र डिभिजन २ बाट नेपालसँगै डिभिजन १ मा प्रोमोशन भएको अर्को टोलीसँग एकदिवसीय खेलहरू खेल्न सक्नेछन् । यसक्रममा नेपाली टोलीले आफ्नो देशमा तथा विदेशमा पनि क्रिकेट प्रतियोगिताहरू खेलेर क्रिकेटलाई थप मजबुत बनाउनका लागि थुप्रै सम्भावनाका ढोकाहरू खुल्नेछन् । एकदिवसीय मात्र नभई नेपालले ती राष्ट्रहरूसँग चारदिवसीय तथा ट्वान्टी-२० खेल पनि खेल्न पाउनेछ । यसले पनि नेपाली क्रिकेटको स्तर उन्नतीमा निकै ठूलो भूमिका खेल्न सक्छ ।

यस्तै, डिभिजन १ र डिभिजन २ बाट जाने शीर्ष दुई टोलीबीच विश्व क्रिकेट लिग प्रतियोगिता हुनेछ । जसको शीर्ष दुई टोलीले सन् २०१९ मा हुने एकदिवसीय विश्वकपमा सोझै स्थान बनाउनेछन् । यसका लागि पनि नेपालले प्रतिष्पर्धा गर्न सक्नेछ । च्याम्पियनसिपका शीर्ष टोलीले टेस्ट वरीयताको पुछारमा रहेका देशसँग टेस्ट शृंखला खेल्न पाउनेछ । त्यो शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविष्यमा टेस्ट मान्यता दिलाउन सक्नेछ । चार वर्षको अवधीमा नेपालले देश तथा विदेशमा खेल्न पाउने अन्तराष्ट्रिय प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाईमा पुर्याउनेमा दुई मत नै छैन् ।

यसकालागि नेपालले डिभिजन २ मा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ । आज हुने खेलमा नेपालले युगान्डालाई पराजित गरेर विजयी सुरूवात गर्दै प्रतियोगितामा दावेदारी प्रस्तुत गर्नुपर्ने छ । नेपालले डिभिजन ३ मा युगान्डालाई पराजित गरेर उपाधी हात पारेको थियो । यस हिसाबले पनि नेपालले युगाण्डालाई पराजित गर्दै नेपाल विजयी सुरूवात गर्ने सुरूमा आज मैदान छिर्ने छ ।


  •  
  •  
  •