काठमाडौं ६ वैशाख (ओएनएस) :
सुस्त मनस्थिति तथा अपांग महिला–बालिका बलात्कारको अधिक जोखिममा रहेको पाइएको छ। बलात्कारपछि घटना बाहिरिने सम्भावना कम हुने आशमा पीडकले यस्ता महिला तथा बालिका पछ्याउने गरेका हुन्। अपराध लुकाउन सजिलो होस् भनेरै उनीहरूले तुलनात्मक रूपमा बालिकालाई चंगुलमा पार्ने गरेको भेटिएको छ।
धुवाँकोट–९ का टीकाराज सेढाईं ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा हिरासतमा छन्। चण्डिनीपाखा जंगलमा गोठालो गएका बेला ५० रुपैयाँको लोभ देखाई ४५ वर्षीय सेढाईंले बलात्कार गरेको पीडितले बताइन्। बाबुआमा नभएकी उनी मामाघर बस्दै आएकी छिन्। भाग्ने क्रममा ढुंगामा ठेस लागेर लडेकी बालिकालाई सेढाईंले बलात्कार गरेको परिवारले जाहेरीमा उल्लेख गरेको छ।
घटना गत चैत १३ गतेको भए पनि जाहेरी भने वैशाख २ गते मात्र प्रहरीमा आएको थियो। बालिकाका साथमा ५० रुपैयाँ भेटिएपछि आफन्तले सोधखोज गर्दा घटना सार्वजनिक भएको थियो। बालिकाका अनुसार सेढाईंले ‘कसैलाई बताए ज्यान मार्नेु धम्की दिएका थिए। पीडकमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र पौडेलले बताए।
च्याङ्ली–६ का ५५ वर्षीय दयाराम लामिछाने मितिनी नाता पर्ने ३५ वर्षीया महिलालाई बलात्कार आरोपमा हिरासतमा छन्। कमजोर मानसिक अवस्थाकी महिलामाथि जबर्जस्ती करणीको मुद्दा खेपिरहेका छन्। चैत १९ गतेको घटना चार दिनपछि सार्वजनिक भएको थियो।
नाम्जुङ–३, रिपथोककी १० वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन्। पूर्ण रूपमा शारीरिक एवम् बौद्धिक अपांगता भएकी उनलाई बलात्कार गर्ने १७ वर्षीय शरण गुरुङ थुनामा छन्। बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण गुप्तांगको शल्यक्रिया नै गर्नुपर्यो। बालिका बोल्न नसक्ने भएकाले यथार्थ पत्ता लगाउन प्रहरीलाई पाँच दिन लागेको थियो।
चैत महिनामा मात्रै भएका यी घटना कुनै पनि सहजै बाहिर आएनन् । पीडकको धम्की र त्रासले धेरैजसो घटना त्यत्तिकै सेलाउन गरेका पाइन्छन्। गोरखा प्रहरीप्रमुख डिएसपी रमेश थापा भन्छन्, ‘पीडकले डरले गर्दा पीडितहरू सहजै घटना बाहिर ल्याउँदैनन्।’
उनका अनुसार पछिल्लो समय सुस्त मनस्थिति, आर्थिक कमजोर, अनपढ एवं अपांग बालिका तथा महिला बलात्कारमा पर्ने गरेका छन्। उनी भन्छन्, ‘यस्ता महिला तथा बालिकाबाट सकेसम्म घटना बाहिरै नआउने र आए पनि प्रभावित पार्न सकिने पीडकको मनोविज्ञान देखिन्छ।’
पछिल्ला केही वर्षका घटना हेर्दा १६ वर्षमुनिका सुस्त मनस्थिति तथा टुहरा बालिका बढी बलात्कृत भएका छन्। परिवारलाई सहजै बताउन नसक्ने, दलित समुदाय र गरिब परिवारका महिला–बालिका पनि सिकार हुने गरेका छन्। घटना लुकाउन सजिलो हुने उपायकै रूपमा पढेबुझेका मान्छे पनि यस्ता महिला–बालिका बलात्कारमा संलग्न भएका भेटिन्छन्।
पीडित परिवारले पनि सकेसम्म आर्थिक ‘बार्गेनिङु मा गाउँमै मिलापत्र गर्ने, नभए मात्र प्रहरीमा आउने प्रवृत्ति पनि बढेको प्रहरी अनुसन्धानले देखाउँछ। ‘कतिपय घटना परिवारकै सहमतिमा थामथुम पार्ने र साथीभाइले थाहा पाएपछि मात्र बाहिरिने देखिएको छ,ु डिएसपी थापा भन्छन्। नागरिकबाट