काठमाडौं १९ चैत ।
छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ । बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् । पढै जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन् । यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सह(प्राध्यापक डा. जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ । कार्बाेहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।’
तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन् । उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बाेहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् । यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन् ।
दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ । त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ । अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन् । जस्तै : मैदामा बाहिरको बोक्रा हुँदैन ।
त्यसैले चोकरसहितको आटाको रोटी स्वास्थ्यकर हुन्छ । मिलमा कुटेको चामलभन्दा ढिकीमा कुटेको चामल अझ स्वस्थकर हुने पोषणविद्हरु बताउँछन् । बजारमा पाइने प्याकिङ चामलभन्दा स्थानीय मिलमा तयार गरेको चामल राम्रो र आडिलो हुन्छ । यस्ता चामलमा कार्बाेहाइड्रेट बढी पाइन्छ । चामलको भुस फँयाकेपछि पनि त्यसको भित्री भागसमेत निकालेर सेतो बनाइन्छ । यसले चामलमा पाइने कार्बाेहाइड्रेट कम हुन्छ ।
परीक्षाको तयारीमा रहेका विद्यार्थी तनावमा हुने भएकोले खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । एकैपटक खुवाउनुभन्दा पनि पटकपटक खुवाउनु उत्तम हुन्छ । ‘खानाको सन्तुलन मिलाउन सकिएन भने खानाप्रति रुचि घट्ने, खाना नरुच्ने र डिप्रेसनको समस्या देखिन्छ,’ प्रधान भन्छिन्, ‘कुन समयमा के खुवाउने भन्ने बाबुआमाले राम्ररी ध्यान दिनुपर्ने हुन्छ ।’
विद्यार्थीहरु राति अबेरसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् । यसो गर्नुभन्दा बेलुका १० बजेतिर सुत्ने र बिहान चाँडै उठ्नु स्वास्थ्यका लागि उपर्युक्त हुन्छ । त्यस्तै, पढै चिया र कफी लिने बानी हुन्छ । परीक्षाको बेला चिया कफी सेवन नगर्न पोषणविद्हरुको सुझाव छ । ‘राति अबेरसम्म पढा चिया, कफी खाने बानी छ । यो राम्रो बानी होइन । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठा रिल्याक्स हुन्छ,’ पोषणविद् प्रधानले भनिन्, ‘चिया कफीले पढ्न जाँगर लगाउने र तनाव कम गर्ने भन्ने गलत हो । उल्टै ग्यास्ट्रिक बढाउँछ । खानाप्रति रुचि पनि कम गराउँछ ।’
अल्का अस्पतालकी डाइटिसियन विनीता पन्त परीक्षाको तयारीमा रहेका विद्यार्थी तनावमा हुने भएकोले प्रशस्त पानी, सुप खुवाउनुपर्ने बताउँछिन् । भिटामिन र खनिज पदार्थको आपूर्ति गर्न फलफूल, हरियो सागपात र अन्य तरकारी पर्याप्त मात्रामा खुवाउनुपर्ने उनले बताइन् । सोडियम र पोटासिमको मात्रा सन्तुलन राख्न फलफूलको जुस, भेजिटेल सुप र प्रशस्त पानीको लिनुपर्ने उनको सुझाव छ । प्रोटिनका लागि माछा, मासु, अन्डा र दूध अनिवार्य खुवाउनुपर्ने हुन्छ । शाकाहारीका लागि दूध, गेडागुडी, पनिर खुवाउनुपर्ने हुन्छ । कान्तिपुरबाट