काठमाडौँ, ८ चैत(ओएनएस) : भारतमा भइरहेको टि-२० विश्वकप क्रिकेटको गयराती सम्पन्न खेलमा वेष्ट इण्डिजले दोस्रो जित दर्ता गरेको छ । बेङ्ग्लोरमा भएको खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहेको छ ।
श्रीलंकाले दिएको १ सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजले १० बल बाँकी रहँदै आफ्ना ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेष्ट इण्डिजका लागि आन्द्रे फ्लेचरले उत्कृष्ट पारी खेलेका थिए । उनले ६४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतले अविजित ८४ रन जोडेका थिए । यस्तै, आन्द्रे रसेलले २० रन जोडेका थिए । श्रीलंकाका लागि मालिण्दा सिरिबर्दनेले २ तथा जेफ्री भान्डरसेले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको श्रीलंकाले राम्रो सुरूवात गर्न सकेन । एकपछि अर्का ब्याटस्म्यानलाई सस्तैमा गुमाएपछि धरमराएको श्रीलंकाको पारीलाई थिसारा परेराले केही उकास्ने काम गरे । उनले २९ बलमा ४० रन बनाउँदै टोलीलाई उकासे तर, उनको मात्र प्रदर्शनले जित सुनिश्चित गर्नु सम्भव थिएन । अन्य ब्याटस्म्यान लामो समय क्रिजमा रहन सकेनन् । कप्तान एन्जेलो म्याथुजले बनाएको २० रन श्रीलंकाका लागि दोस्रो उच्च स्कोर हो । यस्तै, दिनेश चण्डिमलले १६ र तिलकरत्ने दिल्सनले १२ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
वेष्ट इण्डिजका लागि स्यामुअल बद्रीले ३ विकेट लिएका थिए भने ड्वेन ब्राभोले २ विकेट तथा आन्द्रे रसेल र कार्लोस ब्राथवेटीले समान १-१ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच आन्द्रे फ्लेचर घोषित भएका छन्।
आज अष्ट्रेलिया र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ ।