काठमाडौँ, ४ चैत्र(ओएनएस) : टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १० अन्तर्गत गयराती भएको खेलमा वेष्ट इण्डिज र पाकिस्तानले विजयी सुरूवात गरेका छन् । गयराती भएको खेलमा वेष्ट इण्डिजले इङल्याण्डलाई र पाकिस्तानले बंगलादेशलाई पराजित गरेका हुन् ।
वेष्ट इण्डिजले इङल्याण्डलाई ६ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । १ सय ८३ रनको विजय लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ११ बल बाँकी रहँदै आफ्ना ४ विकेट गुमाएर उक्त लक्ष्य हासिल गरेको थियो । इङल्याण्डविरूद्ध जित हासिल गर्नका लागि क्रिस गेलले शतकीय पारी खेलेका थिए । उनले मात्र ४८ बलमा ५ चौका र ११ छक्काको मद्दतले १ सय रन पुरा गर्दै अविजित रहेका थिए । यस्तै, मार्लोन स्यामुअल्सले ३७ रन, आन्द्रे रसेलले १६ रन र दिनेश रामदिनले १२ रन जोडेका थिए । इङल्याण्डका लागि डेभिड विले, रेसी टोप्ले, अदिल रसिद र मोइन अलीले समान १-१ विकेट लिएका थिए ।
यसअघि ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरको खेलमा आफ्ना ६ विकेट गुमाउँदै १ सय ८२ रन जोडेको थियो । इङल्याण्डका लागि जोय रूटले ४८ रन जोडेका थिए भने जोस बट्लरले ३० रन, एलेक्स हल्सले २८ रन, कप्तान इयान मोर्गान २७ रन जोडेका थिए । वेष्ट इण्डिजका आन्द्रे रसेल र ड्वेन ब्राभोले समान २-२ विकेट लिएका थिए भने सुलिमान बेनले १ विकेट लिएका थिए ।
हिजो नै भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ५५ रनले पराजित गरेको थियो । २ सय २ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै मात्र १ सय ४६ रन जोड्न सक्यो । बंगलादेशका लागि शकिब अल हसनले अविजित रहँदै सर्वाधिक ५० रन जोडेका थिए । यस्तै, तमिम इकबालले २४ रन, सबिर रहमानले २५ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमम्मद आमिर र शहिद अफ्रिदीले समान २-२ विकेट लिएका थिए भने मोहम्मद इरफान र इमाद वसिमले समान १-१ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन जोडेको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले सर्वाधिक ६४ रन जोडेका थिए भने अहमेद सेहजादले ५२ रन, शहिद अफ्रिदीले ४९ रन, शर्जिल खानले १८ र सोयब मल्लिकले १५ रन जोडेका थिए । यता बंगलादेशका लागि टास्किन मोहम्मद र अराफत सन्नीले समान २-२ विकेट लिएका थिए भने सबिर रहमानले १ विकेट लिएका थिए ।
आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिष्पर्धा हुँदैछ ।