मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना

90
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) : औसतभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपाली आकाशमा प्रवेश गरेको मनसुन सक्रिय बनेको छ। मनसुन भित्रिए पनि न्यूनचापीय रेखा भारतमै रहँदा झरी पर्न सकेको थिएन ।

तर, पछिल्लो समय न्यूनचापीय रेखा नेपाल सर्ने क्रम बढिरहेका बेला मंगलबार पनि देशका अधिकांश भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ।

मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले पश्चिम नेपालका डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म वहाब उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाले १ हप्ता सम्म देशभरका प्राय नदीमा वहाब बढ्दो क्रममा रहने र त्यसपछि नदीमा वहाब उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।


  •  
  •  
  •