बौद्धिक तथा भौतिक सम्पत्ति सुरक्षामा नेपाल विश्वभरमै कमजोर

167
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) :  बौद्धिक तथा भौतिक सम्पत्ति सुरक्षामा नेपाल विश्वभरमै कमजोर राष्ट्र रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकाको वासिङ्टन डीसीमा प्रपर्टी राइट्स अलायन्सले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

निजी सम्पत्ति सुरक्षामा राजनीतिक असहयोगका कारण नेपालको अवस्था खस्कने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । अलायन्सको प्रतिवेदनमा अन्तरराष्ट्रिय सम्पत्तिमाथिको अधिकार सुचक २०१४ मा नेपाल सम्पत्ति सुरक्षामा विश्वका ९७ देशमध्य ७८ औं स्थानमा रहेको छ । नेपालमा अलायन्सको पार्टनरको रूपमा रहेको सम्वृद्धि द प्रस्परिटी फाउण्डेसनले मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै सो तथ्य बाहिर ल्याएको हो ।

अध्ययन अनुसार नेपालले कुल १० अङ्क मध्य ४ दशमलव ५ अङ्कमात्र प्राप्त गरेको छ । यता अध्ययनमा समावेश गरिएका ९७ देशमध्य नेपाल भौतिक सम्पत्ति अधिकारमा भने केहि अगाडी देखिएको छ । भौतिक सम्पतिको अधिकारमा कुल ५ दशमलव ९ अङ्क प्राप्त गरी नेपालले ६१ औं स्थान प्राप्त गरेको छ ।

त्यस्तै ४ दशमलव १ अङ्क प्राप्त गरी बौद्धिक सम्पत्ति अधिकारको सुचीमा नेपाल ८३ औं स्थानमा रहेको छ । प्रतिवेदनमा नेपालको कानुनी तथा राजनीतिक वातावरण अत्यन्त नाजुक रहेको उल्लेख गरिएको छ । भौतिक तथा बौद्धिक सम्पत्ति अधिकारमा नेपाल गत बर्षभन्दा झन् खस्किएको देखिएको छ । कानुनी तथा राजनीतिक अधिकार प्राप्तीमा भने नेपालले गत बर्ष र अहिले समान अङ्क प्राप्त गरेको छ ।

गत बर्ष पनि नेपालले ४ दशमलव ५ अङ्क प्राप्त गरी १ सय ३१ देशमध्य १ सय २ स्थान प्राप्त गरेको थियो । अलायन्सका अनुसार अध्ययनमा विश्वका ६२ देशमा अवस्थित नीति, विकास, शिक्षा, खोज तथा अध्ययन लगायत सम्पत्ति अधिकारमा संलग्न विभिन्न ८१ ओटा संस्थाको सहयोग लिइएको थियो । नेपालमा राज्य स्तरबाटै बारम्बार सम्पत्ति सुरक्षामा हनन हुने तथा यस प्रति गम्भिर हुन नसक्दा अवस्था कमजोर बन्दै गएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले बताए ।

संविधानमा सम्पत्तिको अधिकारलाई मौलिक अधिकारको रूपमा प्रत्याभुत गर्न सकेमा मात्र नेपालमा आर्थिक विकासको चरण सुरू हुन सक्ने उनने जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संविधानविद भिमार्जुन आचार्यले जनस्तर सम्म सम्पत्तिको अधिकारलाई बुझाउनु आवश्यक रहेको बताए ।

 

 


  •  
  •  
  •