कमजोर भयौ, पार्टी एकता गर्नैपर्छ तर…

243
  •  
  •  
  •  

dev-gurungप्युठान, २ पुस(ओएनएस) : नेकाप-माओवादीका सचिव देव गुरूङ्ले आफ्नो पार्टी निकै कमजोर भएको खुलासा गरेका छौ । केही समयअघि पार्टीका खम्बा मानिएका नेत्र विक्रम चन्दले पनि पार्टी फुटाएर नयाँ पार्टी निर्माण गरेपछि पार्टी कमजोर भएको विष्लेषण भइरहँदा सचिव गुरूङको यस्तो भनाई बाहिर आएको हो ।

पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्युठानमा आयोजित पार्टी प्रशिक्षण सकेपछि निकै निरास मुद्रामा उनले भने, ‘सोचेभन्दा कमजोर भएछौं।’  उनले आफ्नो पार्टी मोहन विक्रम सिंहको मसाल जस्तै भएको बताए । उनले भने, ‘जनयुद्ध हुँदै जनसत्ता ल्याउने भनेका थियौँ । कुनै समयको मोहन विक्रमको मसाल पार्टीको जस्तै हालत भयो।’

उनले त्यस समयमा सिंहलाई पटक-पटक सम्झँदै उनको पार्टी विभाजन र आफ्नो पार्टी विभाजन उस्तै–उस्तै भएको समेत बताए ।

उनले एमाओवादीले जनयुद्धका उपलब्धी बिर्सेको र विप्लव समूहले पदको बार्गेनिङ नमिल्दा पार्टी नै फुटाएको भन्दै आफूहरूले जनयुद्धको जगमा क्रान्ति गर्ने भन्दै एमाओवादीसँग विभाजन भएको बताए । उनले पार्टी विभाजन भएपछि सबै समूह सोचेभन्दा कमजोर भएको बताए ।

कार्यकर्ता प्रशिक्षणमा जनयुद्धका घटना र विभाजनबाट निरास नहुन सचिव गुरूङले आग्रह गरेका थिए ।  स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा दिनभर झन्डै ५० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदा आदर्श र पार्टी योजनाबारे प्रशिक्षणका कुरा गरेका सचिव गुरुङले साँझपख जिल्लाका सीमित र अग्रज कार्यकर्तासँग खुलेर कुरा गर्दा निरासासँगै पीडा सार्वजनिक गर्दै कमजोर–कमजोर एक हुने समय आएको बताए । ‘एमाओवादीले जनयुद्धका मुद्दालाई सम्बोधन गर्ने र नेत्रविक्रम चन्द ‘विप्लव’ले पदको लोभ त्याग गरे पार्टी एकता हुन्छ,’ उनले भने,‘अब सबै माओवादीको एकताबिना केही पनि सम्भव छैन।’


  •  
  •  
  •