ओली सरकारसँग सन्तुष्ट छैनौँ : उपाध्यक्ष श्रेष्ठ

133
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस(ओएनएस) : सत्ता साझेदार एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू सम्मिलित सरकारको कामकारबाहीसँग पार्टी असन्तुष्ट रहेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको काम गर्ने शैली र मन्त्रालय टुक्राउने कामले आफ्नो पार्टी र एमालेबीच तीव्र मतभेद रहेको बताएका छन् । उनले ओली सरकार मधेस आन्दोलनको राजनीतिक समाधानका लागि गम्भिर नबनेको बताउँदै आफ्नो पार्टी यस कार्यप्रति असन्तुष्ट रहेको र मन्त्रालय टुक्राउने र मन्त्री थप्ने विषयमा आफूहरूको गम्भिर आपत्ति रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री ओली आफ्नै मन्त्रिपरिसद्ले गरेको निर्णयको विरोधमा बोल्दै हिड्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीको यस्तो कामकारबाहीमा आफूहरूको कुनै पनि समर्थन नरहेको बताएका छन् । उनले सरकारले यस्तो गरेको नसुहाउने समेत भनाई राखेका छन् ।
उनले सरकारले आफ्नो गल्ति सुधार्नुपर्ने बताउँदै आफूहरू नयाँ सरकारको पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् । उनले नयाँ सरकार निर्माण गर्नका लागि अहिलेको सरकार भन्दा राम्रो विकल्प भएमात्र सोच्न सकिने बताएका छन् ।


  •  
  •  
  •