एक गाग्री पानी ल्याउन ३ घण्टा

275
  •  
  •  
  •  

खोटाङ, २५ मङ्सिर । खोटाङको उत्तरी खोटाङको उत्तरी गाविस बडकादियालेस्थित गबैँचा गाउँमा खानेपानीको हाहाकार भएको छ ।

नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर ५ मा पर्ने बगैँचा गाउँका नौ घर दलितसहित १७ घरपरिवारमा विगत दुई वर्षदेखि खानेपानीको समस्या भएको हो । गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि तीन घण्टा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय रीता नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो–“खानेपानी लिनकै लागि एकजना बिहानै जानुपर्ने यसले गर्दा विशेषगरी केटाकेटीको पढाइमा असर पुगेको छ ।” नौ घर दलितसँगै चार घर श्रेष्ठ र चार घर कार्की परिवार बसोबास गर्ने उक्त गाउँमा हालसम्म कुनै योजना नपरेको स्थानीय सन्तोष सुयलले बताउनुभयो ।

उहाँले भन्नुभयो–“मान्छेले त जसोतसो बोकेरै भए पनि खाइन्थ्यो, गाईवस्तुलाई समेत गाग्रोमा बोकेको पानी खुवाउनु पर्दा ज्यादै समस्या भएको छ ।” त्यस क्षेत्रमा एउटा मात्र कुवा भएकाले बिहान सबेरै नगए पानी नपाइने र आफूहरूको समस्यामा कसैको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ ।


  •  
  •  
  •