एम.आर.पी हेरेर मात्रै पानी किन्न  आग्रह

444
  •  
  •  
  •  

काठमाडौं, ४ भदौ (ओएनएस)  : नेपाल बोटल वाटर उद्योग संघले पानीमा कार्टेलिङ्, एकाधिकार र ब्रम्हलुट नभएको बताउँदै उपभोक्ताहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संघले बजारमा हल्ला भए झैं पानीमा कार्टेलिङ्, एकाधिकार र ब्रम्हलुट नभएको र उपभोक्ता मूल्य एम.आर.पीमा कुनै पनि परिवर्तन नगरेको स्पष्ट पार्दै उपभोक्ताहरुलाई समेत सचेत रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष किशोर मानन्धरले पानीको बोटलमा नै मूल्य अंकित गरिएको हुँदा सोही मूल्य हेरेर मात्रै पानी किन्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । मानन्धरले भने–पानीमा बिचौलिया र माफियाहरुको दबाबमा कार्टेलिङ् भयो भन्नु गलत हो । यसमा कुनै सत्यता छैन् । यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा गर्ने हो भने सवै व्यवसाय नै धराशयी बन्छ । उद्योगले बजारबाट आफूले पाउनुपर्ने मुल्य नपाएको अवस्थामा विक्रि वितरणमा मात्रै हेरफेर गरेको हो ।

त्यस्तै संघका उपाध्यक्ष सजनलाल प्रधानले केही विचौलीयाहरुले पानीमा कार्टेलिङ् भयो भनेर हिँडेको आरोप लगाउँदै मूल्य परिवर्तन नभएको प्रष्ट पारेका छन् । प्रधानले बजारमा पानीको अभाव नगराउनका लागि आफूहरु लागि परिरहेको बताए । उनले सरकारले पानी उद्योगहरुको वर्गीकरण गरेर मात्रै मूल्य निर्धारण गर्न माँग समेत गरेका छन् ।

उनीहरुले उपभोक्ताहरुलाई बोटलमा भएको एम.आर.पी हेरेर मात्रै पानी किन्न अनुरोध गरेका छन् ।


  •  
  •  
  •