बल्ल सुरु भयो जनसंख्या ‘घडी’

127
  •  
  •  
  •  

काठमाडौं २ साउन ।
समय हेर्न आविष्कार गरिएको उपकरणको नाम हो– घडी । उहिले पुर्खाले भाले बासेको आधारमा, पूर्वी आकाशमा घाम उदाएदेखि नअस्ताएसम्मको आधारमा समय खुट्याउँथे । पन्ध्रौं शताब्दीमा पिटर हेलेले घडीको आविष्कार गरेपछि भने मानव समुदायलाई सहज बनेको हो । तर, हाम्रा पितापुर्खाले त्यो सुविधाको उपभोग गर्न २०औं शताब्दीसम्म कुर्नुपर्‍यो । घण्टाघर हेरर, भित्तेघडी झुन्ड्याएर अनि नाडीमा घडी बाँधेर चौबीस घण्टाको समयलाई सेकेन्ड–सेकेन्डमा छुटाउन सक्ने भए ।

यतिखेर यहाँ उल्लेख गर्न लागिएको घडीको प्रसंग भने अलिक फरक छ । त्यो हो, ‘जनसंख्या घडी’ (पपुलेसन क्लक) । नेपालमा जनगणना सुरु भएको १ सय ५ वर्षपछि हरेक दिनको जनसंख्या थाहा पाउने सार्वजनिक सूचना पाटीलाई ‘जनसंख्या घडी’ नामकरण गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले समय हेर्ने घडी नभई हरेक दिन बढेको जनसंख्यालाई सबैले देख्न, हेर्न र बुझ्न सक्ने गरी राखिने कामलाई ‘जनसंख्या घडी’ नामकरण गरेको छ । ‘राष्ट्रिय जनगणना २०६८ को जनसंख्या वृद्धि दरका आधारमा हरेक दिनको जनसंख्या सर्वसाधारणले देख्न सक्ने ठाउँमा राखेका छौं,’ विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले भने, ‘हरेक दिनको जनसंख्या हेर्न सकिने छ ।’ विश्वका विभिन्न मुलुकले धेरैअघिदेखि ‘जनसंख्या घडी’ राख्ने गरेका छन् । नेपालमा पहिलो पटक यो व्यवस्था गरिएको हो ।

नियमानुसार सबैको पहुँच पुग्ने सार्वजनिक ठाउँमा राखिनुपर्ने हो । तर, खुल्ला ठाउँको अभाव छ । त्यसैले अहिले राजधानी काठमाडौंको थापाथलीस्थित केन्द्रीय तथ्यांक विभागको हातामा सबैले देखिने ठाउँमा राखिएको उपमहानिर्देशक सुवालले जनाए । नयाँ आर्थिक वर्ष २०७२/७३ को पहिलो दिनबाट यो सेवा सुरु भएको हो । मूलबाटोबाटै देखियो– ‘साउन १, २०७२ नेपालको आजको जनसंख्या २ करोड ८० लाख ६४ हजार ६ सय १४ ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलव ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत छ । त्यही वृद्धिदरका आधारमा हरेक दिनको जनसंख्या निकालिने तथ्यांक अधिकृत तीर्थराज बरालले बताए ।

यो जनसंख्या वृद्धिदरका आधारमा तयार गरिएको सूत्रबद्ध तथ्यांक हो । जनसंख्यालाई ज्योमेट्रिक मेथड, लिमिमर मेथड र एक्सपोनेन्सिसियल मेथड गरी तीन तरिकाले विश्लेषण गरिन्छ । ‘यसमा हामीले एक्सपोनेन्सिसियल मेथड अपनाएका छौं,’ विज्ञ र विश्लेषकहरूलाई आधार

बनाएर जनसंख्या सार्वजनिक गरिएको उल्लेख गर्दै अधिकृत बरालले भने, ‘यो मेथडले पन्ध्र दिनसम्म दैनिक १ हजार ६८ जना जनसंख्या बढ्ने देखाउँछ भने त्यसपछि अर्कै फिगर देखाउँछ ।’

लिमिमर मेथडले भने वर्षको ३ सय ६५ दिनलाई बराबरी बनाएर देखाउँछ । तर यी तीनवटै मेथडले लैंगिक, उमेरगत अनुपात खुल्न सक्दैन । र, विदेशमा रहेकाहरूको तथ्यांक पनि निस्कन सक्दैन ।

विभागले तीस वर्षको जनसंख्या प्रक्षेपण गरेको छ । तर २०७८ (सन् २०२१) मा एघारौं जनगणना हुने भएकाले ‘जनसंख्या घडी’ मा त्यो राखिने छैन । यो घडी मुलुकका विभिन्न पाँच क्षेत्रमा राख्ने प्रस्ताव गरिएको थियो । तत्काल परीक्षणका रूपमा विभागको हातामा मात्र राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय पद्धतिअनुसार हरेक दस वर्षमा राष्ट्रिय जनगणना हुने गर्छ । नेपालमा वि.सं. १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो भने अन्तिम पटक २०६८ सालमा सम्पन्न भएको थियो । त्यही तथ्यांकका आधारमा मुलुकका योजना बनेका र बन्दै छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •