कडा आन्दोलन गर्ने ट्रक व्यवसायीको चेतावनी

71
  •  
  •  
  •  

काठमाडौं, भदौ ११ : नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले विकास निर्माणको आधारभूत सामाग्रीहरुको आपूर्ति ठप्प हुँदासमेत सरकार र क्रसर उद्योग तथा ढुंगा एवं बालुवा खानीको संचालकहरुबाट निर्णायक पहल नगरेकोे आरोप लगाउँदै छिट्टै आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकारल तथा क्रसर उद्योग व्यवसायीहरुले समस्याको समाधानका लागि उपर्युक्त भूमिका निर्वाह नगरेको कारण यस्तो समस्या आएको बताएका छन् । रानाभाटले विस्तारै ढुंगा, गिट्टी तथा बालुवा मात्रै नभएर विकास निर्माणमा अत्यावाश्यक सामाग्री सिमेन्ट र छड पनि बन्द भएपछि लामो दुरीका ढुवानी गर्ने ट्रकहरु पनि बन्द हुने बताउँदै देशमा कालाबजारीहरुको ब्रम्हलुट हुने ठोकुवा गरे । उनले भने – युद्धस्तरमा काम हुने वेला सरकार कानमा तेल हालेर बसेको छ । हामीले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि हाम्रो सुनुवाई भएन् । त्यसैले अब हामी आन्दोलनमा जाँदैछाै‍ ।

महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण साम्रगीको सहज आपूर्तिको व्यवस्था गुर्नुपर्ने, बेरोजगार यातायात साधन र मजदुरहरुलाई यथोचित राहतको व्यवस्था गरिनुपर्ने, सरकारले तोकेको भाडा सहज रुपमा कार्यान्वयन गर्नुपर्ने, मालवाहक सवारी साधनका लागि उचित पार्किङ्को व्यवस्था गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ ।


  •  
  •  
  •