जनार्दन शर्मा ‘प्रभाकर’ एमाओवादीका स्थायी समिति सदस्य छन् । रुकुम–२ बाट संविधानसभामा प्रतिनिधित्व गरेका उनी हालैमात्र व्यवस्थापिका–संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भएका छन् । प्रभाकर जनयुद्धको उत्तराद्र्धतिर जनसेनाका चार डेपुटी कमान्डरमध्ये एक थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि ०६५ मा उनी शान्तिमन्त्री भए । युद्धका दिन सकिएयता बागमतीमा धेरै पानी बगिसकेको छ । तर पनि प्रभाकरले जनयुद्धका केही घटना अझै भुल्न सकेका छैनन् ।
रातभरि एक्लै पोस्टर टाँसेँ
जनयुद्ध सुरु गर्ने बेलामा म दाङमा थिएँ । यहाँको जनआधार कमजोर थियो, साथीहरू कम थिए । सुरुवाती कारबाही गर्दा जिल्लाभरि कभर गर्नुपथ्र्यो । केही साथी जनयुद्ध सुरु गर्ने भनेपछि निष्क्रिय हुन थाले । घोषणाको अघिल्लो दिन अरू साथीलाई अन्यत्र कारबाही गर्न पठाएँ । र, एक्लै घोराही बजारका विभिन्न ठाउँमा पोस्टर टाँसेँ । सबै टार्गेट भ्याएँ । एक्लै भए पनि नयाँ उत्साह थियो, केही गर्न लागिएको छ भन्ने थियो ।
पोस्टर टाँसिसकेपछि बसिरहेको भन्दा फरक घरमा गएँ बास बस्न । प्रशासनले के गर्ला त भन्ने जिज्ञासा थियो । तर, केही भएन, सामान्य भयो । त्यसैले भोलिपल्ट दिउँसो पोस्टर टाँसेका ठाउँमा हेर्न गएँ । ती यथावत् थिए, खुसीको अनुभूति भयो ।
झिम्पे टावर आक्रमण
सल्यानको झिम्पे लेकमा रहेको टेलिफोन टावरको सुरक्षा गर्ने प्रहरीचौकी थियो । त्यही लेकको सामुन्ने रहेको झ्यामको लेकमा मैले ०५५ सालको कात्तिक पहिलो साता हाम्रा सैनिकका लागि ट्रेनिङ चलाएँ । प्रशिक्षणका लागि पासाङजी (नन्दकिशोर पुन)लाई बोलाएको थिएँ । अन्तिम दिनमा बेस्सरी पानी पर्यो । निकै जाडो भयो । झिम्पे लेकमा रहेको प्रहरीलाई पनि हामीलाई जस्तै जाडो भएको छ भन्ने मेरो दिमागमा एक्कासि आयो ।
मैले भनेँ, ‘झिम्पे टावरमै किन परीक्षण नगर्ने ?’ केही साथीलाई रिकी गर्न पठाएँ । ठाउँ अप्ठ्यारो छ, भिरालो जमिन छ भन्ने आयो । तर, मैले साथीहरूलाई कन्भिन्स गरेँ । अन्तत: हामीले १० कात्तिकमा आक्रमण गर्यौँ । म त्यो कारबाहीको कमिसार थिएँ । हामीसँग केवल दुईवटा बन्दुक थिए । त्यसमध्ये एउटा ६ वटा गोली लाग्ने सिक्सर थियो । सिक्सर बोकेको साथीले पड्काउला कि नपड्काउला भनेर उनीसँगै पछिपछि गएँ र निशाना देखाउँदै लौ पड्काऊ भनेँ । उनले टार्गेटमै फायर गरे । ती साथी पछि डिभिजन कमान्डर पनि भए ।
हामी सफल भयौँ । आठ थान थ्रीनटथ्री राइफल र एउटा रिभल्बर कब्जा भयो । यो त्यसवेलाको सापेक्षतामा त्यो ठूलो सफलता थियो ।
फन्दामा डिएसपी
५ असोज ०५६ मा रुकुमको महत गाविसमा रहेको प्रहरीचौकीमा गरेको कारबाही सफल भयो । यो पनि तत्कालीन अवस्थाको ठूलो कारबाही थियो । कारबाही सकिएपछि मैले यहाँको कमान्डर को हो भनेर सोधेँ । हाम्रा साथीहरूले डिएसपी ठूले राईलाई फेला पार्नुभएको रहेछ । उनले ‘म हुँ’ भने । साथीहरूले डोरीले बाँध्नुभएको रहेछ । मैले फुकाइदिन भनेँ । मैले राईलाई कुनै अप्ठ्यारो मान्नुपर्दैन भनेँ । हामीबीच राम्रो छलफल पनि भयो । पछि उनलाई हामीले रिहा गरिदियौँ ।
साथीको सहादतमा रुवाबासी
०५६ चैतमा रुकुमको तकसेरामा रहेको प्रहरीचौकीमाथिको कारबाही जनयुद्धको उल्लेखनीय आक्रमणमा पर्छ । उक्त चौकीमा चार–पाँचवटा साना चौकी मिसाइएको थियो । त्यसैले हामीले लामो सयमसम्म लडाइँ गर्नुपर्यो, त्यसलाई कब्जामा लिन । यो उनीहरूको केन्द्रीकृत शक्तिलाई पराजित गरेको अर्को ठूलो लडाइँ थियो ।
यो कारबाहीमा हाम्रा असाध्यै होनाहार, प्रतिभाशाली र ‘अफेन्सिभ’ दुई साथीको सहादत भयो । ती साथीका शवलाई हामीले कोल गाविसको जंगलमा सद्गत गर्यौँ । त्यसक्रममा पूरै फर्मेसन १५/२० मिनेट जति डाँको छोडेर रोयौँ । अन्त्यमा हामी सम्हालियौँ । हामीले शोकलाई शक्तिमा बदल्ने अठोट गर्यौँ र बाटो लाग्यौँ ।
उज्यालैमा चौकी कब्जा
दोस्रो राष्ट्रिय सम्मेलनपछि मेरो जिम्मेवारी सुदू्रपश्चिम क्षेत्रमा पर्यो । त्यहाँ गएपछि मैले सुरुमा सेना निर्माणको काम सुरु गरेँ र एउटा प्रशिक्षण चलाएँ । कामको थालनी कैलालीबाट गरेँ । सँगसँगै मैले किसानहरूलाई संगठित गर्ने अभियान चलाएँ । १५ दिनमा ६० हजार किसान संगठित भए । त्यसपछि मैले एउटा खुल्ला सभा आयोजना गरेँ । त्यसमा प्रहरीले आक्रमण गर्यो । जनताले प्रतिरोध गरे । भाग्ने क्रममा प्रहरीले हानेको गोली लागेर एकजनाको मृत्यु भयो । प्रहरी भागेपछि मैले किसानहरूलाई यसको बदला लिइनेछ भनेर सम्बोधन गरेँ ।
किसानलाई वाचा गरेअनुसार योजना बन्यो । अर्को दिन साँझ पाँच बजेको उज्यालोमा हामीले लालबोझीमा रहेको चौकीमा आक्रमण गर्यौँ । तर, सुरुमा प्रशिक्षण दिन आएका क.आकाश, जो यो कारबाहीको कमान्डर हुनुहुन्थ्यो, ढल्नुभयो । त्यसपछि मैले आफैँले कमान्ड सम्हालेँ । चौकी पूरै कब्जा भयो । अघिल्लो दिनको किसान प्रतिरोध र भोलिपल्टै चौकी कब्जा भएपछि जनताको मनोबल ह्वात्तै बढ्यो ।
रेन्जर फोर्ससँग भिडन्त
तत्कालीन शाही नेपाली सेनाले आफ्नो ‘रेन्जर फोर्स’ को खुबै बढाइचढाई गरी प्रोपोगन्डा गरेका थिए । अब यसले नै केही गर्छ भन्ने प्रचार व्यापक थियो । हामीलाई भने त्यस्तो लागेको थिएन । अर्कै स्थानमा कारबाही गर्ने उद्देश्यले कैलालीको पन्डोनमा हामी तयारी गरिरहेका थियौँ । हामी तयारीको प्रारम्भिक स्थितिमै थियौँ । गोलीगट्ठा पर्याप्त थिएन ।
त्यतिकैमा उनीहरूले हामीमाथि आक्रमण गरे । पन्डोनको एउटा डाँडामा भीषण लडाइँ भयो । रेन्जर त्यस्तो उल्लेख्य केही होइन भन्ने प्रमाणित भयो । स्थानीयका अनुसार सेनाले १९ जनाको शव हेलिकोप्टरमा लगेको थियो । यो कारबाहीले रेन्जर फोर्सको चुरीफुरीलाई घटाइदियो । नेपाली सेनाको मनोबल यसरी गिर्यो कि फेरि उठ्न सकेन । आफ्नोतर्फ धेरै क्षति भएपछि त्यसलाई ढाक्नका लागि सेनाले ठूलो प्रचार गर्यो । वास्तवमा त्यहाँ हाम्रा दुई जना साथीको मात्र सहादत भएको हो ।
‘प्रभाकर’खारामा असफलता
रुकुमको खारामा रहेको शाहीसेनाको मजबुद ब्यारेकमाथि हामीले दुई दिनसम्म जमेर आक्रमण गर्ने योजना बनाएका थियौँ । हाम्रो फोर्स र आर्क दुई भागमा बाँडिएको थियो । एउटा आर्कको नेतृत्व मैले गरेको थिएँ, अर्कोको नेतृत्व पासाङजीले गर्नुभएको थियो ।
हामी बंकर बनाउँदै, तार काट्दै ब्यारकेको टपमा पुगेका थियौँ । तर, उज्यालो हुने वेलामा अर्को साइडबाट साथीहरू रिट्रिट हुनुभएछ । त्यहाँ हतियारले काम नगरेको खबर हामीलाई आएन । अर्को आर्कमा आक्रमण बन्द भएपछि शाहीसेना हामीतिरै केन्द्रित भयो । उता सदरमुकामबाट पनि फोर्स थपियो । हामीले दुईतिर लड्नुपर्यो । हामी भोलिपल्ट चार बजेसम्म लडिरह्यौँ । योजनाअनुसार लड्न सकेको भए हामी त्यो मोर्चा जित्थ्यौँ ।
जोडबलमा पिली
खारामाथि गरिएको कारबाही सफल हुन नसकेको स्थिति थियो, जसका कारण पार्टीभित्र पनि ‘कन्फ्युजन’ उत्पन्न भएको थियो । नेतृत्वपंक्तिका साथीलाई पनि जितिँदैन भन्ने लागेको थियो । मलाई लाग्यो– हाम्रा सेना, कार्यकर्ताको गिरेको मनोबल उठाउनुपर्छ । मैले रिस्क लिने निर्णय गरेँ । मैले नेतृत्वलाई कन्भिन्स गरेँ । ब्रिगेडहरूलाई कोच गरेँ । कमान्डर क.विविध हुनुहुन्थ्यो, उहाँ सर्भेमा जानुभयो ।
बाटो बनाउन गएको भए पनि शाहीसेनाले त्यहाँको फोर्टिफिकेसन निकै मजबुद बनाएको थियो । उनीहरू हतियारले पूरै सुसज्जित थिए । तर, त्यो उनीहरूका लागि नयाँ ठाउँ थियो ।
हामीले त्यो मोर्चा जित्नै पथ्र्यो । हार्ने विकल्पै थिएन । त्यसैले हामीले अन्तिम सदस्य हुँदासम्म लड्ने संकल्प गरेका थियौँ । अन्तिम सदस्यचाहिँ म थिएँ । आक्रमणका क्रममा हामी निकै अफेन्सिभ भयौँ । बिहानको साढे तीन बजेतिर फोर्टिफिकेसनको मूल पोइन्ट फोड्यौँ । साढे चार बजेतिर हामीले पूरै ब्यारेक कब्जा गर्यौँ ।
टार्गेट पोखरा
०६२ मा औपचारिक रूपमा जनसेनाको कमान्डरको जिम्मेवारी लिएपछि मैले एउटा ठूलो फोर्सको नेतृत्व गर्न थालेँ । हामी पोखरा टार्गेट गरेर अघि बढ्यौँ । त्यतिवेला हामीले ‘माझीदाइ फेवातालको’ भन्ने कोडभाषा बनाएका थियौँ ।
त्यसवेला एकथरी साथीहरूको मत छेउबाट लड्दै जानुपर्छ भन्ने थियो । मैले त्यतिवेलाको परिस्थितिअनुसार मुख्य ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने मत राखेँ । त्यहीअनुसार हामी बाग्लुङ, पर्वत हुँदै स्याङ्जाको पूर्वी बेल्टमा आइपुग्यौँ । स्याङ्जाको मनकामनामा आइपुगेपछि हाम्रो शाहीसेनासँग भिडन्त भयो । हाम्रा लागि नयाँ भूगोल थियो, सेनाले घेराबन्दी गरेर आक्रमण गर्यो । पाँचजना साथी गुमायौँ ।
कब्जामा तानसेन
शाहीसेनाका ठाउँ–ठाउँका घेरा पार गर्दै पाल्पाको पूर्वी र तनहुँको पश्चिम भेग पुग्यौँ । त्यसवेला एउटा अनौठो घटना भयो । हामी जहाँ क्याम्प राखेर राति बसेका थियौँ । नेपाली सेना हामीभन्दा पाँच मिनेट पर बसेको रहेछ । बिहान उठेपछि पो उनीहरूको सेन्ट्री देखियो । उनीहरूले पनि देखे । हामी आक्रमण गर्ने मुडमा थिएनौँ । उनीहरूले पनि हामीमाथि आक्रमण गरेनन् । हामी आ–आफ्नो बाटो लाग्यौँ ।
पाल्पा कब्जा गर्न जानेक्रममा पनि हाम्रो शाहीसेनाको रेन्जर फोर्ससँग पटक–पटक भिडन्त भयो । त्यसवेला शाहीसेनाका मुख्य कमान्डरसमेत रहेका ज्ञानेन्द्र पोखरामा बसेर प्रत्यक्ष कमान्डिङ गरिरहेका थिए । एक किसिमले शाहीसेनाको सर्वोच्च कमान्डरले नजिकै रहेर नेतृत्व गरेको फोर्ससँग हामी भिडन्त गरिरहेका थियौँ ।
हामी दर्जनौँ भिडन्तको सामना गर्दै पाल्पा सदरमुकाम तानसेन पुग्यौँ । हामीसँग गोलीगट्ठा कम भएका थिए । धेरै साथी घाइते हुनुभएको थियो । पाल्पामा हामीले सेनाको ब्यारेक कब्जा गर्ने योजना बनाए
का थिएनौँ । दरबारमा भएको सानो टु्रप्सलाई भने कब्जामा लिने सोचेका थियौँ ।
बजार प्रवेश गर्ने क्रममा टेलिफोन टावरमा रहेको शाहीसेनाले हामीमाथि आक्रमण गर्यो । भीषण भिडन्त भयो । भोलिपल्ट दिउँसोसम्म लडाइँ चल्यो । पाल्पा दरबारमाथि क्षति पुर्याउने उद्देश्य थिएन । तर भिडन्तका क्रममा ध्वस्त हुन पुग्यो ।
राजमार्गमा दिउँसै लडाइँ
जनयुद्धको उत्तराद्र्धतिर पूर्व–पश्चिम राजमार्गको सुनवलमा भएको कारबाही गण्डक अभियानको महत्त्वपूर्ण कारबाही थियो । हामीले दिउँसो नै मूल राजमार्गमा बुटवल तथा नवलपरासीबाट हामीलाई घेराबन्दी गर्न आएको फोर्समाथि आक्रमण गर्यौँ । उनीहरू क्षतविक्षत भए । आक्रमण सकेर हिँडेपछि शाहीसेनाको हेलिकोप्टरले हामीमाथि बम वर्षा गर्यो । हेलिकोप्टरको आक्रमणबाट हामी बालबाल बच्यौँ ।
गण्डक अभियानको अन्त्यतिर हामी बुटबलमाथि कारबाही गर्ने निर्णयमा पुग्यौँ । तर, आक्रमणका लागि हाम्रो फोर्स पस्न नपाउँदै सेनाले बजारका मुख्य क्षेत्र कब्जा गरिसकेको खबर आयो । तल रहेका हाम्रा सूचनादाताले सेना बजारका मुख्य–मुख्य ठाउँमा बसेको खबर दिए । हाम्रो एउटा कम्पनी सहायक बाटोबाट बजार क्षेत्रभित्र गइसकेको थियो । यस्तो खबर आएपछि मैले सँगै रहनुभएका कमिसारलाई सोधेँ । उहाँले कमान्डरले नै गर्ने हो भन्नुभयो ।
सेनाले योजना थाहा पाइसकेको र एम्बुस थापेर बसेको खबर आएको स्थितिमा मैले फोर्स रिट्रिट गरेँ । मेरो त्यो निर्णयपछि पार्टीमा इस्यु बन्यो । तर, मलाई अझै पनि मैले त्यसवेला सही निर्णय गरेको थिएँ भन्ने लाग्छ । मैले त्यसो नगरेको भए सयौँ साथीको सहादत हुन सक्थ्यो । जनयुद्धको कोर्स पनि अर्को हुन सक्थ्यो । शान्तिप्रक्रियामा आइसकेपछि मैले थाहा पाएँ, बुटवलमा यो दिन आक्रमण हुँदै छ भनेर पार्टीभित्रैबाट पो सूचना गएको रहेछ ।
प्रस्तुति : नयाँपत्रिकाबाट/दीपक सापकोटा