सभासद्को युद्ध स्मृति

384
  •  
  •  
  •  

santu

२०५८ मंसिर ८ गते दाङको सदरमुकाम घोराही र लमही एवं स्याङ्जाको सदरमुकाम पुतलीबजार र वालिङमा रहेका तत्कालीन शाही नेपाली सेनालगायत सरकारी सुरक्षाकर्मीका अखडा र प्रशासनिक कार्यालयमाथि माओवादीले एकै समयमा आक्रमण गरेको थियो । त्यो आक्रमणलाई दशवर्षे माओवादी जनयुद्धको उल्लेखनीय घटनामध्येको एक मानिन्छ । माओवादीले सोही दिन र सोही समयमा पूर्वी क्षेत्रको सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमाथि आक्रमण गर्ने योजना बनाएको थियो । तर, योजनाअनुरूप आक्रमण हुन सकेन । दुई दिन अर्थात् मंसिर १० गते मात्र माओवादीले सल्लेरीमाथि धावा बोल्यो । सल्लेरीमाथि भएको सो आक्रमणका कमान्डर थिए, सन्तु दराई ‘परवाना’ । हाल संविधानसभा सदस्यसमेत रहेका परवानाको सो आक्रमणसम्बन्धी अनुभव :    

०५८ साउन ७ गते युद्धविराम भएर वार्ता चलिरहेको थियो । तर, सरकार वार्ताबाट निकास निकाल्न तयार भएन । सरकार हामीसँग वार्ता गरिरहेको थियो । तर, भित्रभित्रै हामीलाई दमन गर्नका लागि सैनिक तयारी पनि सरकारले सँगसँगै गरिरहेको थियो । यो बुझेर हामीले पनि आन्तरिक रूपमा तयारी थाल्यौँ । ०५८ को दसैँआसपास हामीले धादिङको विकट क्षेत्रमा देशभरबाट चुनिएका कमान्डरहरूको केन्द्रीकृत सैन्य प्रशिक्षण राखेका थियौँ । वार्ता चलिरहे पनि जुनसुकै वेला आक्रमणको आदेश आउन सक्छ भन्ने मानसिकतामा हामी थियौँ ।

कात्तिकको अन्त्यतिर पार्टीको बागमती–नारायणी क्षेत्रीय ब्युरोको राजनीतिक प्रशिक्षण दोलखामा भयो । त्यसमा मोहन वैद्य ‘किरण’ प्रमुख अतिथि हुनुहुन्थ्यो । क्षेत्रीय इन्चार्ज हुनुहुन्थ्यो, अग्नि सापकोटा । सापकोटा हाम्रो पार्टीको तर्फबाट वार्ताटोली सदस्य पनि हुनुहुन्थ्यो ।

नेतृत्वले हामीलाई वार्ताबाट निकास निस्कने सम्भावना सकिएकाले अन्तिम तयारी थाल्न निर्देशन दियो । राजनीतिक प्रशिक्षणका क्रममा हाम्रो क्षेत्रमा जनसेनाको बटालियन फर्मेसन घोषणा भयो । कमान्डरको जिम्मा मैले पाएँ । सोही कारबाहीका लागि कमरेड धु्रव पराजुली, गंगा कार्की र रितबहादुर खड्कालाई कमिसार तोकिएको थियो । त्यही प्रशिक्षणमा माथिल्लो तहमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमाथि आक्रमण गर्ने निश्चित भयो । त्यसो त हामीले अन्य केही सदरमुकामको पनि रेक्की गरेका थियौँ । तर, अन्य विविध अनुकूलताका अतिरिक्त सगरमाथा भएको जिल्लाबाट संसारलाई एउटा सन्देश दिने उद्देश्य पनि राखेर हामीले सल्लेरी छानेका थियौँ ।
santu darai
पश्चिमका साथीहरूले त्यसअघि नै डोल्पा सदरमुकाममा आक्रमण गरिसक्नुभएको थियो । तर, हाम्रा लागि त्यो पहिलो अवसर थियो । त्यसैले सदरमुकाममाथि आक्रमण गर्ने भनेपछि हामीमा नौलो खालको खुसी सञ्चार भएको थियो । हामीले एक महिनाजति अघि नै सल्लेरीलगायत केही सदरमुकामको नक्साको मिहिन अध्ययन गरेका थियौँ । सल्लेरी अक्रमण गर्ने तय भएपछि अरू एक दर्जनजति सिनियर कमान्डर तथा कमिसार कमरेडहरू गएर स्थलगत रूपमा रेक्की गर्‍यौँ । कम्पनी कमान्डर साथीहरूले आफूलाई परेको आर्कको बढी गम्भीरतापूर्वक रेक्की गर्नुभयो ।

मंसिर ६ गते अध्यक्ष प्रचण्डले एउटा प्रेस वक्तव्य जारी गरेर सरकारले वार्ता एकतर्फी रूपमा भंग गरेको घोषणा गर्नुभयो । पार्टी केन्द्रबाट तीनवटै सदरमुकाममा एकैचोटि आक्रमण गर्ने निर्देशन आयो, मंसिर ८ गते राति १० बजे । हामी त्यसवेला सोलुखुम्बुको टाप्टिङ भन्ने गाउँमा थियौँ । केन्द्रबाट ‘अट्याक’ गर्ने निर्देशन पाएपछि हामीले हतियार तयारी र म्याप कोचिङलगायत काम सक्यौँ । सबै गरेर हाम्रो फोर्स करिब १५ सयजनाको थियो । अनुभव साटासाट गर्नका लागि पश्चिमबाट क. सन्तोषको नेतृत्वमा एक प्लाटुन फोर्स पनि आएको थियो ।

आठ गते साँझ खाना खाएर हामी सल्लेरीतिर लाग्यौँ । तर, दु:खको कुरा हामी सल्लेरी पुग्न आधा घन्टाजति बाँकी हुँदा एकजना साथीले बोकेको ग्रिनेड पड्कियो । त्यसको आवाज सल्लेरी बजारसम्म सुनिन्थ्यो । के गर्ने भनेर हामी कमिसार र कमान्डरहरूको संक्षिप्त बैठक भयो । त्यसैवेला प्रहरीबाट हामीले खोसेको एउटा सेटमा सबै सेना र प्रहरी ब्यारेकबाट ‘अल आउट’ भएको खबर आयो । सायद उनीहरूलाई दाङ र स्याङ्जामा आक्रमण भइसकेकाले सचेत हुनु भनेर केन्द्रबाट खबर आइसकेको हुनुपर्छ ।

अब खाली ब्यारेकमा गएर आक्रमण गर्नुको कुनै अर्थ थिएन । आक्रमणको एउटा मुख्य उद्देश्य हतियार कब्जा गर्नु थियो । खाली ब्यारेक र भवन ध्वस्त गरेर केही हुने थिएन । फेरि हामी प्रतिघेरामा पर्ने खतरा पनि हुन्थ्यो । केही साथीले ‘जे भए पनि आक्रमण गरौँ’ भन्नुभएको थियो । अन्तत: हामी त्यहीँबाट फक्र्यौँ । ठूलो मौका चुकेको अनुभूति भयो । फर्केर आएर पहिले बसेभन्दा अर्कै गाउँमा गएर हाम्रो उपस्थितिको कुनै झलक नहुने गरी असाध्यै शान्तसँग बस्यौँ । भोलिपल्ट दाङ र स्याङ्जाका सदरमुकाममाथि आक्रमण भएको खबर रेडियोबाट सुन्दा मलाई पूर्वी क्षेत्रमा एउटा ठूलो मौका गुमेजस्तो अनुभूति भयो ।
०००
हामीलाई कतिखेर पुरानो सत्ताका संयन्त्रमाथि आक्रमण गरी विजय पाऊँ भन्ने हतारोजस्तो पनि थियो । सम्पूर्ण तयारी भइसकेको थियो । हामीले भोलिपल्टै केही साथी र स्थानीयलाई पठाएर स्थिति ‘अपडेट’ गर्‍यौँ । धेरै प्रतिकूल नभएको रिपोर्ट आयो । भोलिपल्टै सल्लेरीमाथि आक्रमण गर्ने निधो भयो । मंसिर १० गते साँझ खाना खाएर हामी दुई दिनअघिजस्तै सल्लेरीतर्फ लम्कियौँ । रातको ११ बजे हामी सदरमुकाम पुग्यौँ र आ–आफ्नो आर्कको जिम्मा लियौँ । हाम्रो प्रमुख निशाना तत्कालीन शाही नेपाली सेना र प्रहरीका ब्यारेक, जिल्ला प्रशासन कार्यालय, कारागर, बैंक, सरकारी कार्यालय र फाप्लुमा रहेको प्रहरीचौकी थिए ।

हामी सल्लेरी बजार पुग्नेबित्तिकै कुकुरहरू भुक्न थाले । यस्तो एकोहोरो भुकाइले सेना र प्रहरीलाई सचेत बनायो । पश्चिमका दुई सदरमुकाममाथि आक्रमण भएकाले उसै पनि देशभरिका सुरक्षाकर्मी चनाखो अवस्थामा थिए । त्यसमाथि पहिलोपटक शाही सेनामाथि आक्रमण भएको थियो । हामीले फायर ओपन गर्नेबित्तिकै सेना र प्रहरीले भीषण प्रत्याक्रमण गरे । उनीहरू चनाखो भएर बसेको प्रस्ट भयो । त्यसैले गर्दा हामीले सोचेभन्दा बढी साथीहरूको सहादत भयो । प्लाटुन कमान्डर प्रेम सापकोटा ‘सौरभ’लगायत होनाहार कमान्डर साथी घाइते हुनुभयो । पछि त उहाँहरू सहादत नै हुनुभयो । तैपनि, हामीले दुई घन्टाभित्रै प्रहरी कार्यालय, बैंक तथा अन्य सरकारी कार्यालय कब्जामा लियौँ ।

तर, सेनासँग लडेको अनुभव हामीसँग थिएन । आठ गते आश्चर्यजनक ढंगले आक्रमण गर्ने अवसर हामीले गुमाएका थियौँ । हामीसँग सेनाको जस्तो आधुनिक हतियार पनि थिएन । चिसो मौसममा युद्धविरामको चारमहिने अवधिसम्म नचलाएका कारण कैयौँ हतियार जाम भए । त्यसैले त्यहाँको लडाइँ लम्बियो । हामी चार बजेसम्म लडिरह्यौँ । आक्रमणका क्रममा शाही सेनाको हेलिकोप्टर हामीमाथि घुम्थ्यो । तर, तिनीहरू त्यति प्रभावकारी भने थिएनन् । उज्यालो हुन थालेपछि हामीलाई रिट्रिट हुनुपर्ने बाध्यता आइलागेको थियो । अन्यथा त्यति ठूलो फोर्स घेराबन्दीमा पर्न सक्थ्यो । सहादत भएका साथीहरूको शव, घाइते तथा कब्जा गरेका हतियार बोकेर सुरक्षित स्थानतर्फ जानुपथ्र्यो । चार बजेतिर हामी सल्लेरीबाट फक्र्यौँ, सेनाको ब्यारेक मात्र छोडेर । हामी सोलुखुम्बुबाट पश्चिम दोलखा–रामेछापतिर लाग्यौँ ।

आक्रमणबाट फर्कने क्रममा हामीमाथि भीषण आक्रमण भयो । ११ गते सरकारले संकटकाल घोषणा गरेर औपचारिक रूपमा सेना परिचालन गर्‍यो । हामीलाई नाका–नाकामा सेना तथा प्रहरीले ब्लक गर्न खोजे । त्यसले गर्दा केही घाइते साथी छुट्नु पनि भयो । तर, उहाँहरूलाई जनताले जोगाउनुभयो ।

सल्लेरी आक्रमणपछि सरकार र सरकारी सञ्चारमाध्यमहरू ठूलो दुष्प्रचार गर्न थाले । हामी लगातार रेडियो सुनिरहेका थियौँ । शाही सेनाको हवाला दिँदै रेडियो नेपालले सल्लेरी आक्रमणमा अढाइ सय ‘आतंककारी’को मृत्यु भएको भनिरहेको थियो । जबकि, हाम्रोतर्फ १४ जना कमरेडको मात्र सहादत भएको थियो । बरु, सरकारी सुरक्षाफौजतर्फ सिडिओसहित ५० जनाभन्दा बढीको मृत्यु भएको थियो । नेतृत्वलाई कन्फ्युजन होला भनेर हामीले वास्तविक उपलब्धि र क्षतिको रिपोर्टिङ गर्‍यौँ ।

उक्त कारबाहीबाट हामीले विभिन्न थरीका राइफल, सटगन, पिस्तोल गरेर ८० थानभन्दा बढी हतियार कब्जा गर्‍यौँ । त्यस्तै हजारौँ थान डेटोनेटर, हजारौँ गोली, सयौँ क्वायल फ्युज वायर, सयौँ किलो जिलेटिन र सयौँ ग्रिनेड कब्जा भए । त्यहाँ रहेको बैंकबाट करिब तीन करोड रुपैयाँ नगद पनि कब्जा भयो ।
०००
खासगरी पूर्वी क्षेत्रको हकमा सल्लेरीमाथि हाबी हुनुको ठूलो महत्त्व थियो । एउटा त यो पहिलो सदरमुकाममाथि आक्रमण थियो । अर्को शाही सेनामाथिको सुरुवाती कारबाही । तर, ८ गते आश्चर्यजनक आक्रमण गर्ने अवसर एउटा सानो घटनाका कारण गुम्यो । सल्लेरीको ब्यारेकमाथि पूर्णतया हाबी हुन नसक्दा हामीलाई पूर्वी क्षेत्रमा सेनामाथि हाबी हुन समय लाग्यो । भोजपुर टावरमा पुगेपछि मात्रै हामी सेनामाथि हाबी भयौँ । आठ गते आक्रमण गर्न सकेको भए हामी निश्चित रूपमा सेनामाथि पनि हाबी हुने रहेछौँ । एक हिसाबले हाम्रो योजना खुलेको र दुई दिनअघि मात्र आक्रमण भएर सेना र प्रहरी सचेत भएको अवस्थामा पनि हामीले ब्यारेकबाहेक सबै सरकारी कार्यालय कब्जा गर्‍यौँ ।

पूर्वी क्षेत्रमा सदरमुकाममाथि पहिलो र एक मात्र आक्रमण यही रह्यो । त्यसपछि सेनाको अड्डा जमाउने र हामीलाई उनीहरूको अनुकूल क्षेत्रमा बोलाएर सिध्याउने रणनीति अपनाएपछि हामी विकेन्द्रित आक्रमणमा केन्द्रित भयौँ । यो आक्रमणको सम्मानमा हामीले केही समयपछि सोलु–सल्लेरी बटालियन निर्माण गर्‍यौँ । अझ पछि हाम्रो जनसेनाको डिभिजन बन्यो, त्यसलाई अपग्रेड गरेर यही नाममा ब्रिगेड पनि बनायौँ ।

प्रस्तुति : दीपक सापकोटा/नयाँपत्रिका


  •  
  •  
  •