साक्षर कर्णाली बनाउन ‘कर्णालीका लागि हिडौं’ अभियान

191
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : कर्णालीको निरक्षरता उन्मुलनका लागि ‘कर्णालीका लागि हिडौं’ कार्यक्रम गर्न लागिएको छ । समुन्नत कर्णाली नामक कर्णालीका युवाहरुको समूहले आगामी चैत्र ७ अर्थात मार्च २१ तारिखका दिन काठमाण्डौंमा कर्णालीका लागि हिडौं कार्यक्रम गर्न लागेको हो ।

सन् २०२० सम्ममा कर्णालीका पाँच जिल्ला (हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोट) का हरेक नागरिकलाई साक्षर बनाउनका श्रोत जुटाउन ‘कर्णालीका लागि हिडौं’ कार्यक्रम गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले बताए । उनले भने, “केन्द्रीय तथ्याङ्क बिभागको तथ्याङ्क अनुसार कर्णालीमा अझै एक लाख ५२ हजार जना निरक्षर छन् । हामी उनीहरु सबैलाई आगामी ५ वर्षभित्रमा साक्षर बनाउने अभियानमा छौं । निरक्षरता उन्मुलनका लागि नागरिक लगानी भन्ने नाराका साथ हामीले त्यस दिन व्यक्तिगत रुपमा श्रोत जुटाउन खोजेका हौं ।”

करिब एक घण्टाको हिडाईमा श्रोत संकलनको काम गरिने बताउँदै उनले उक्त कार्यक्रममा एक हजारभन्दा बढि नेपाली नागरिक सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए । उनले भने, “शिक्षा नेपालको सहकार्यमा समुन्नत कर्णालीले ‘साक्षर कर्णाली २०२०’ कार्यक्रम सुरु गरेको छ । जसको उद्देश्य सन् २०२० सम्ममा कर्णालीका पाँच जिल्ला (हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोट) का हरेक नागरिकलाई साक्षर बनाउनु रहेको छ । उक्त कार्यक्रममा साक्षर कर्णालीका लागि एक जना व्यक्तिले तीन हजार रुपैंया योगदान दिएर वा सङ्कलन गरी सहभागि हुन सक्नेछन् ।”

एक जना निरक्षर व्यक्तिलाई साक्षर बनाउन तीन हजार रुपैँया लाग्ने अनुमान समुन्नत कर्णाली नामक संस्थाको छ । सन् २०१५ को सेप्टेम्वर सम्ममा डोल्पाको माझफाल गाविसका ९ सय ४४ निरक्षरलाई साक्षर बनाई पुर्णसाक्षर गाविस घोषणा गर्ने लक्ष्यसहित ७ गते कार्यक्रम गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले बताए ।

उनले भने, “डोल्पाको माझफाल गाविसमा गएको जनवरीबाटै २३ वटा साक्षरता कक्षा सञ्चालन भैरहेका छन् । एउटा कक्षामा औसतमा १५ जना रहन्छन् । बाँकीका लागि मे महिनाबाट साक्षरता कक्षा सञ्चालन हुन्छन् । हामी सन् २०१५ को सेप्टेम्वर सम्ममा माझफालका ६ सय १३ महिला र ३ सय ३१ पुरुष गरी जम्मा ९ सय ४४ निरक्षरलाई साक्षर बनाई पुर्ण साक्षर गाविस घोषणा गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं ।”

एक साक्षरता कक्षा ३ देखि ४ महिनासम्म सञ्चालन गर्दा १५ जनासम्म साक्षर बनाउन सकिने र त्यसका लागि पैंतालिस हजार रुपैँया खर्च लाग्ने प्रमुख कार्यकारी अधिकृत बोहराको भनाइ छ । सरकारी तथा गैर सरकारी निकायबाट अहिलेसम्म सहयोग नपाइएको बताउँदै उनले कर्णालीका युवाहरुको समूहले साक्षर कर्णालीको अभियान सुरु गरेको बताए ।


  •  
  •  
  •