अनैठा गाउँमा ५ वर्षपछि लोपोन्मुख गिद्धको बथान

234
  •  
  •  
  •  

महोत्तरी, ११ फागुन (ओएनएस) : महोत्तरी जिल्लाको महोत्तरी गाउँ बिकास समितिस्थित अनैठा गाउँमा लोपोन्मुख गिद्धको बथान देखिएको छ ।

यस जिल्लामा पाँचबर्षपछि गिद्धको बथान देखिएको हो । अनैठा गाउँस्थित महादेव मन्दिर नजिकको सिमलको रुखमा रहेको गिद्धको बथान हेर्न दिनहुँ सर्वसाधारण पुग्ने गरेका छन् । अनैठा गाउँ सदरमुकाम जलेश्वरबाट सात किलोमिटर टाढा छ ।

विरामी भई मरेको पशुबाट सिनो खाएकै कारण यस क्षेत्रबाट गिद्ध लोपोन्मुख अबस्थामा पुगेको जानकारहरु बताउँछन् । गाउँघरमा सिमलको रुप रोपिनु तथा बिरामी भई मरेको पशुलाई खोल्डो खनेर गाड्न थालिनु पनि गिद्ध संरक्षणमा सहयोग पुगेको पूर्व वन कर्मचारी कुशेश्वर महासेठले बताए ।

चमार जातिले मरेको पशुबाट छाला काढ्ने तथा मासु त्यसै छोड्ने गरेका थिए । तर केही बर्षदेखि चमार जाति सिनो फाल्न बहिष्कार गरेका छन् । पशुधनीहरु आफै अग्रसर भई मरेको पशुलाई गाड्न थाल्नु पनि सकरात्मक भएको महासेठले बताए ।

पाँच बर्ष अगाडि गिद्धको यस्तै बथान सुगा गाउँमा समेत देखिएको कृष्णा युवा क्लवका अर्पण कर्णले जानकारी दिए । तस्विर खिच्न क्यामरा देखिने बित्तिकै गिद्धहरु कराउन थालेपछि हेर्नेहरुको घुइचो नै लागेको थियो ।


  •  
  •  
  •