भुदेउ हत्या प्रकरण : विपक्षीहरुको नाममा अदालतको परमादेश

118
  •  
  •  
  •  

court

खोटाङ, १९ भदौ (ओएनएस) : जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले विपक्षीहरुको नाममा परमादेश जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखिएकै अवस्थामा २०७० असार २६ गते रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय भुदेउ भनिने किरण राईको मृत्यु भएको थियो । सोही घटनामा अस्थायी इजलास ओखलढुंगाले विपक्षी जिल्ला प्रशासन कार्यालय र जिप्रका खोटाङको नाममा परमादेश जारी गरेको हो ।

वरिष्ठतम न्यायाधीश टेकराज नेपाल र न्यायाधीश दीपेन्द्रबहादुर बमको संयुक्त इजलासले निवेदनको माग दाबीबमोजिम जाहेरी दरखास्त लिएर अनुसन्धानको प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको छ ।

रिटमाथि सरकारी वकिलका तर्फबाट नवराज पराजुली र निवेदकका तर्फबाट अधिवक्ता टुकराज निरौलाले बहस गरेका थिए ।

ज्यान मारेको अभियोगमा २०७० जेठ २८ गते पक्राउ परेपछि जिप्रका खोटाङको हिरासतमा राखिएका भुदेउको प्रहरीको कुटपिट र यातनाबाट हिरासतमै मृत्यु भएको पीडितले दाबी गर्दै आएका छन् ।

भुदेउ प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा पुनः बुइपाबाट पक्राउ परेपछि उनलाई प्रहरीले निर्घात कुटपिट गरेको उनीहरुको आरोपछ ।


  •  
  •  
  •