४५ जिल्लामा शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान जारी

४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्र मतदान
341
  •  
  •  
  •  

काठमाडौँ, २१ मंसिर (ओएनएस) : ४५ जिल्लाका विभिन्न मतदान केन्द्रमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचित गर्न बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान भइरहेको छ । तराई र पहाडी ४५ जिल्लाबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र छन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् ।

४ दिनभित्र मतपरिणाम
आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको मतगणना २१ मंसिरको साँझ ५ बजेबाट सुरु हुनेछ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ ।

मतदान गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
मतदान गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल
मतदानका लागि लाइनमा एमाले महासचिव ईश्वर पोखरेल

 


  •  
  •  
  •