प्रदेश र प्रतिनिधि सभाको मतगणना सुरु, ४ दिनभित्र मतपरिणाम आइसक्ने

589
  •  
  •  
  •  

काठमाडौँ, २१ मंसिर (ओएनएस) : प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै पहिलो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधि सभा तर्फ ३७ र प्रदेश सभातर्फ ७४ क्षेत्रमा मंसिर १० गते मतदान भएको थियो ।

बिहीबार मतदान भएका जिल्लामा मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्यतालिका सार्वजनिक गरिनेछ ।

४ दिनभित्र मतपरिणाम
आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ । आयोगको निर्देशिका अनुसार सम्भव भए प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई भनिएको छ ।

तर, त्यसरी मतगणना गर्दा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका दुईवटा र समानुपातिकतर्फका दुईवटा गरी ४ वटा समूह बनाउनुपर्ने हुन्छ । मतगणनास्थल र जनशक्तिअनुसार दल र निर्वाचन अधिकृतबीचको सहमतिअनुसार कुन पहिला गणना गर्ने भन्ने निर्धारण गर्न पनि सक्नेछन् ।

तर, सामान्यतः पहिलो प्रतिनिधिसभाको प्रत्यक्ष, त्यसपछि प्रदेशको प्रत्यक्षको गणना हुने सम्भावना छ । यी दुवै गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।


  •  
  •  
  •