पुटिन चौथोपटक रुसी राष्ट्रपतिमा निर्वाचित

409
  •  
  •  
  •  

GETTY IMAGES

काठमाडौं, ५ चैत (ओएनएस) : भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

राष्ट्रपतीय निर्वाचनमा अपेक्षित जित हासिल गरेसँगै पुटिनले रुसलाई अर्को ६ वर्ष नेतृत्व गर्ने भएका हुन्।

अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। राष्ट्रपतीय निर्वाचनमा ११ करोड नागरिकले मतदान गरेका थिए।

निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन्।

प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई चुनावमा उठ्न रोक लगाइएको थियो। चुनावको प्रारम्भिक नतिजा घोषणा गरिएपछि मस्कोमा एउटा र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगत केही वर्षयताका उपलब्धिलाई मतदाताहरूले अनुमोदन गरेको बताए।

पुटिनले सन् २०१२ मा ल्याएको मतभन्दा अहिले बढी पाएका छन्। त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए।


  •  
  •  
  •