काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौंको दशरथ रंगशाखामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी हुन् ।
उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए ।
समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेको छ ।
शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक संघसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो । नेपालको ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको छ । बुधबार नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ ।
प्रदेश नं १ मा विराटनगरको रंगशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने जनाइएको छ । सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवर्द्धनका साथै पूर्वाधार विकासलाई सँगै अघि बढाएको छ ।