काठमाडौँ, १५ कात्तिक(ओएनएस) : नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ ग्रहण गरेपछि उपराष्ट्रपति पासाङले सपथपत्रमा हस्ताक्षर गरेका छन् ।
यसपछि उपराष्ट्रपतिसँग परिचयको कार्यक्रम भएको छ । राष्ट्रपति भण्डारीसँग उपराष्ट्रपतिले परिचय गरेका छन् । साथै उपराष्ट्रपतिसँग प्रधानमन्त्री, प्रधानन्यायाधिशलगायत पूर्व प्रधानमन्त्री, मन्त्रीहरू, कुटनीतिक नियोगका पदाधीकारीहरू, राजदूतहरूले परिचय आदानप्रदान गरेका छन् ।
आजै नवनियुक्त उपराष्ट्रपति पासाङले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
उनले लिएको सपथ यस्तो छः
म नन्दबहादुर पुन मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य र निष्ठापूर्वक प्रतिज्ञा गर्छु, शहिद, देश र जनताको नाममा सपथ लिन्छु की नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहीत रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै उपराष्ट्रपति पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पुर्वाग्रह वा खराव भावना नलिई इमान्दारिताका साथ गर्नेछु ।
र, आफ्नो कर्तव्य पालनाको शिलशिलामा आफूलाई जानकारीमा आएको कुरा र, पदमा वहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानुनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।