काठमाडौँ, ११ असोज(ओएनएस) : उपराष्ट्रपति परमानन्द झाले निकै लामो समयपछि तराई मधेसबारे आफ्नो भनाई सार्वजनिक गरेका छन् । उपराष्ट्रपति झाले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग तत्काल मधेसका माग पूरा गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा उनले सरकारले तराई-मधेसको मागलाई वेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । उनले भनेका छन्, ‘छ प्रदेशको मागमा अडिग राजनीतिक दलहरू सुदूरपश्चिमको चाहनालाई तत्काल सम्बोधन गरी सात प्रदेशको सीमांकन गरिनु र तराई मधेशका जनताले उठाएका जायज मागहरूलाई यति दिन बितिसक्दा पनि सम्बोधन नगरिनुले राज्यको विभेदपूर्ण व्यवहारलाई उजागर गरेको छ ।’
उनले सरकार र सत्तासीन दलहरूका तर्फबाट तत्काल आन्दोलनरत पक्षसँग सार्थक र परिणामुखी वार्ता गरी मधेशको माग चाडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘बहुमतको नाममा सीमान्तकृत समुदायसँग विगतमा भएका सहमति सम्झौता र ती सहमति सम्झौताका आधारमा तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ मा संशोधनमार्पत गरिएका कतिपय व्यवस्थालाई वेवास्ता गरिनु राम्रो र सुखद होइन ।’