भ्लादिमिर पुटिन र किम जोङ–अनबीच भेटवार्ता

675
  •  
  •  
  •  

भ्लादिभोस्तक(एजेन्सी) : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ ।

रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा रुसको भ्लादिभोस्तक पुगेका थिए ।
उनलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक भेषभुषासहित स्वागत गरेका थिए ।

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता हुँदैछ । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लागेका छन् ।

दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित हुने रुसी अधिकारीहरुले जनाएका छन् ।
यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नहुने र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नहुने क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताएका छन् ।

क्रेमलिनका अनुसार प्रारम्भमा दुबै नेताबीच मात्र भेटघाट हुनेछ, र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय सामूहिक भेटवार्ता हुनेछ । रुसी समाचार संस्था रिया नोभोस्तीका अनुसार दुबै प्रमण्डलबीच करिब चार घण्टा वार्ता हुनेछ ।


  •  
  •  
  •