सरकारले घटायो सार्वजनिक यातायातको भाडा

458
  •  
  •  
  •  

sajhayatatकाठमाडौ, ९ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेपनि यातायातको भाडा दर नघटेको भन्दै व्यापक जनगुनासोपछि सरकारले आजदेखि लागू हुने गरी सवारी साधनको यात्रु भाडा दर घटाउने भएको छ ।

सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको मूल्य घटेपछि सार्वजनि यातायातको भाडा पनि घटाइएको हो । सार्वजनिक यातायातमा प्रयोग हुने पेट्रोलियम पदार्थको मूल्य चार महिनामा पटक-पटक गरी १३ रूपैयाँभन्दा बढी घटेपछि सार्वजनिक यातायातको भाडा घटाउनुपर्ने माग उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म भाडा घटाएको छ ।

नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ ।

सरकारले घटाएको भाडा अनुसार काठमाडौ उपत्यका लगायत अन्य सहरी क्षेत्रमा चार किलोमिटरसम्मको भाडा १५ रूपैयाँ कायम गरिएको छ ।

यस्तै, पाँच किलोमिटरसम्म १६ रुपैयाँ, ६ किलोमिटरसम्म १८ रुपैयाँ, ८ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ, १० किलोमिटरसम्मको २१ रुपैयाँ, १५ किलोमिटरसम्म २२, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २६ र १९ किलोमिटरभन्दा माथिको २७ रुपैयाँ भाडादर कायम गरिएको छ ।


  •  
  •  
  •