चोर बाटो प्रयोग गर्दै विचौलीयाहरू

302
  •  
  •  
  •  

रक्षा रेग्मी 
काठमाडौं, ९ साउन (ओएनएस) : नेपाललगायत भारतबाट तरकारी कालिमाटी तरकारी बजारमा आइपुग्छ । त्यहाँबाट नजिकका अन्य तरकारी बजार तथा थोक र खुद्रा पसलमा विक्रीका लागि लगिन्छ । तर, केही साता देखि कालीमाटी तरकारी बजार भित्रिने तरकारी उपत्यकाकै अन्य बजारतिर ‘डाइभर्ट’ हुन थालेको छ ।

कालिमाटीमा वाली संरक्षण निर्देशनालयले गत असार २९ गते देखि ‘विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि’ लागु गरेपछि यहाँ आउने तरकारी अन्य तरकारी बजारमा ‘डाइभर्ट’ हुन थालेको हो ।

निर्देशनालयले तरकारी तथा फलफुलको जाँच गरी अत्याधिक विषादी भएका तरकारी नष्ट गर्न थालेपछि विचौलीयाहरूले विकल्पका रुपमा अन्य तरकारी बजारलाई रोजेका छन् । अहिले उपत्यकाकै टुकुचा, कोटेश्वर, बल्खुलगायत तरकारी बजारमा सिधै तरकारी पुग्ने गरेको छ ।

कालिमाटीमा मात्र विषादी मापन गर्ने यन्त्र राखिएकोले अन्य तरकारी बजारमा तरकारी ‘डाइभर्ट’ भएको किसान तथा व्यापारी अच्युतप्रसाद चापागाईँ बताउँछन् । ‘धेरै विषादी भएको तरकारी नष्ट गर्नुभन्दा त अन्य बजारमा लगेर बेच्नु नै किसानलाई फाइदा हुन्छ नि’, उनले भने । सरकारले उपत्यकाका अन्य तरकारी बजारको अनुगमन गर्ने तिर ध्यान नदिने भने यो समस्या समाधान नहुने उनको भनाई छ ।

‘काठमाडौं भित्रने चार ओटै नाकामा यस्तो मेसिन राखेमा उपत्यकाका उपभोक्ताले स्वस्थ तरकारी खान पाउँछन्’, उनले भने ‘जिल्लाका तरकारी बजारबाट नै कडाइ गर्नसके त झनै राम्रो ।’

चाँडै नै काठमाडौंका टुकुचा, कोटेश्वर, बल्खु, माछापोखरीलगायतका तरकारी बजारमा पनि विषादी मापन गर्ने मेसिन ल्याउनु आवश्यक भएको कालिमाटीका तरकारी व्यापारी कृष्ण पौडेलको तर्क छ । सरकारले अहिले नै मेसिन ल्याउन नसके कालिमाटीमा प्रमाणित गरेर मात्र अन्य तरकारी बजारमा तरकारी तथा फलफूल पठाउने प्रणाली लागु गर्नेपर्ने उनी बताउँछन् । तर यसका लागि कालिमाटीमा मेसिन थप गरी विषादी मापन कार्यक्रमलाई कडाइका साथ अगाडी बढाउनु पर्छ ।

यता सरकारी निकायका सरोकारवालाहरू भने कालिमाटीमा मेसिन राखेपछी अत्याधिक विषादीयुक्त तरकारी बजारमा नआएको दावी गर्छन् । ‘मेसिन राखेपिछ किसानहरू पनि सचेत भएका छन्’, कृषि विकास मन्त्रालयका वरिष्ठ वाली संरक्षण अधिकृत वासुदेव शर्माले भने । यसले विषादी नियमन गर्ने सरकारी निकाय नै बेखबर रहेको देखाउँछ ।

किसनालाई तालिम 

यसैबीच सरकारले अत्याधिक विषादी प्रयोगलाई रोक्न गाउँगाउँमै पुगेर विषादी प्रयोग सम्वन्धि तालिम दिने भएको छ । विषादी प्रयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि उपलब्धिमूलक नभएकोले हरेक जिल्लामा भएका किसानहरूको समूहमार्फत कडाईका साथ विषादी प्रयोग सम्बन्धि तालिम दिन लागिएको कृषि मन्त्रालयका प्रवक्ता टेकप्रसाद लुइटेलले बताए ।

‘कुन तरकारीमा कति विषादी प्रयोग गर्ने तथा विषादी प्रयोग गरेपछि कति समयसम्म प्रयोग नगर्नेलगायत बारे जनचेतना फैलाउने कार्यलाई कडाइका साथ लागु गर्न लागेका हो’ उनले भने ।

बैठकले विषादी व्यवस्थापन समिति गठन गरी कालिमाटी विषादी मापन यन्त्र थप्ने तथा १ बर्ष भित्रमै अन्य टुकुचा, बल्खु तथा माछापोखरीलगायत अन्य ठूला तरकारी बजार विषादी मापन यन्त्र राख्ने निणर्य गरेको छ । तर तत्काललाई स्वस्थ तरकारी बजारमा पठाउन ठोस कदम चाल्न भने सरकार चुकेको उपभोक्ताहरू बताउँछन् ।

उपभोक्ता नै आकर्षक तरकारी खोज्छन् 

विषादी नराखेको तरकारी आकर्षक र आकारमा ठूलो हुँदैन । उपभोक्ता आकारमा ठूलो तथा आकर्षक तरकारी खरिद गर्न रुचाउँछन् । विषादी प्रयोग गरिएका हुन्छन् भन्नेमा उपभोक्ता अनभिज्ञ रहेको कालिमाटीकै व्यापारी धर्मराज घिमिरे बताउँछन् ।

उपभोक्ताको सो आकर्षणलाई पुरा गर्न पनि तरकारीमा विषादी राख्नुपर्ने बाध्यता आएको उनको तर्क छ । ‘त्यसैले यसमा किसानको मात्र पनि गल्ती छैन’, उनले भने । तर प्रायः किसानहरू विषादी राख्ने तरिका तथा त्यसको प्रतिक्षा अवधिका बारे अनविज्ञ हुँदा यस्तो समस्या आएको घिमिरेले बताए । साथै तरकारीको उत्पादन बढाउने लोभमा पनि किसान बढी मात्रामा बिषादी राख्ने गरेका सरोकारवालाहरू बताउँछन् ।

अत्याधिक विषादी प्रयोग गरिएको तरकारीले मानव शरिरमा भएको रगतको इन्जाइमलाई निस्क्रिय पारिदिन्छ । यसले गर्दा पक्षघाट, ट्युमर, मिर्गौलालगायत समस्या निम्त्याउने विज्ञहरू बताउँछन् ।

केही सातायता तरकारीमा विषादीको चर्चा चलेपछि कालिमाटीका व्यापारीहरू निरास देखिएका छन् । विषादीको चर्चाले तरकारी खरिद गर्न आउने उपभोक्ताको संख्यामा कमी आएको उनीहरू बताउँछन् ।

यो पनि पढ्नुहोस् ।

१५५ मध्ये २६ नमुनामा विषादी


  •  
  •  
  •