भारतीय प्रधानमन्त्री मोदी भारतबाट हेलिकप्टरद्धारा सिधै जनकपुर आउने

383
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने निश्चित भएको छ। गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेको पुष्टि गरेका छन्।

उनले भने,‘ हेलिकप्टरद्धारा मोदी भारतबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ, उहाँको हेलिकप्टर जनकपुरमै अवतरण हुनेछ’

भारतीय वायुसेनाको जहाजमा नयाँदिल्लीबाट पटना विमानस्थलमा अवतरण गर्ने मोदी र उनको टिम त्यहाँबाट तीनवटा हेलिकोप्टरमा जनकपुर अवतरण गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएको छन्।

मोदीलाई जनकपुरमा स्वागत र नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदी जनकपुर आउँदा उनलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको गृहमन्त्री थापासहितको उच्च सुरक्षा टिमले निरीक्षण गरेको छ।

प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यही दिन मुस्ताङ पुग्ने कार्यक्रम छ। मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाडौं जाने कार्यक्रम रहेको छ।

गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताए।

‘उहाँको नेपाल भ्रमण बिल्कुल धार्मिक हो। राजनीति होइन,’ गृहमन्त्री थापाले सञ्चारकर्मीसित भने, ‘मोदीको भ्रमणले नेपाल–भारतबिच सदियौंदेखिको समाजिक र धार्मिक सम्बन्धलाई थप उचाइँमा पुर्‍याउनेछ।’

गृहमन्त्री थापाले मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त प्रदेश सरकारले गर्ने र संघीय सरकारले समन्वय गर्ने बताए।


  •  
  •  
  •