राज्यको सहयोगी बन्दै भल्मन्सा प्रथा

378
  •  
  •  
  •  

धनगढी, ९ माघ (ओएनएस) : नयाँ वर्षको रुपमा माघी मनाइरहेको थारू समुदायमा भल्मन्सा (बड्घर) लगायतका गाउँ प्रतिनिधि चयन भइरहेका छन् ।

थारू समुदायमा एक सातासम्म माघीको रौनक देख्न पाइन्छ । माघी मनाउने क्रममा अहिले थारू समुदायमा भल्मन्सा (बड्घर), चिराकी (ओर्गन्वा), चौकीदार, गुरुवा चयन भइरहेका हुन् ।

भल्मन्सा चयनसँगै गाउँको नीति नियम बनाउनमा पनि उनीहरू व्यस्त छन् । थारू समुदायको परम्परा अनुसार उनीहरुको एक वर्ष कार्यकाल रहने गरेको छ ।

थारू समुदायको भल्मन्सा प्रथा राज्यको सहयोगी अंगको रुपमा स्थापित हुँदै गएको छ । ‘स्थानीय निकाय तथा विभिन्न गैरसरकारी संस्थाले गर्ने हरेक क्रियाकलापमा भल्मन्सा सहजकर्ताको भूमिका निर्वाह गर्छन । विकास निर्माणसँगै गाउँमा मान्छे भेला पारिदिने कामसम्म भलमन्सा प्रथाले गर्दै आएको छ ।’ थारू कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले भने, ‘यो प्रथा राज्यको सहयोगी अंगको रुपमा स्थापित हुँदै गएको छ ।’

सरकारी तथा गैरसरकारी निकायले थारू समुदायमा आफ्ना कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन भल्मन्साको सहयोग लिने गरेको उल्लेख गर्दे पूर्व सभापति चौधरीले भने, ‘गाउँघरमा यो प्रथा ‘मर्दापर्दा’ काम लागेको छ ।’

भल्मन्सा, चिराकी र गुरुवा सम्मिलित यो प्रथाले गाउँमा बाटो बनाउने, कुलो खन्ने, गाउँघरमा रहेका ससाना मुद्दा मामिलाको छिनोफानो गर्ने गर्छ । थारू समुदायमा सामान्य न्याय प्रणालीदेखि गाउँको सामाजिक, सांस्कृतिक, आर्थिक क्रियाकलाप भल्मन्साको नेतृत्वमा हुँदै आएको छ ।

आदिवासी जनजाति थारूको प्रथाजनित कानूनलाई प्रयोग गर्न पाउने अधिकारलाई मान्यता दिइनु पर्ने पूर्व सभापति चौधरी बताउँछन् ।
गाउँमा वर्तमान प्रतिनिधिहरुको कामलाई समीक्षा गरिसकेपछि नयाँ चुन्ने वा पुरानैलाई निरन्तरता दिने भनेर निर्णय गर्ने गरिएको भजनी–त्रिशक्ति नगरपालिका– ६ का पूर्व भल्मन्सा दरबारी चौधरीले बताए ।

भल्मन्साहरूले सिँचाई कुलो बनाउने, कृषि सडक बनाउने, गाउँमा विवाह, ब्रतबन्ध गराउने, काजक्रिया गराउने काम गर्दे आए पनि पछिल्लो समयमा कृषिसँगै गाउँको विकास, सामाजिक, साँस्कृतिक विकास तथा जनचेतना बृद्धिको काममा पनि भल्मन्साले भूमिका निर्वाह गर्दै आएका छन् ।

थारू नागरिक समाज कैलालीका अध्यक्ष दिल बहादुर थारू सरकारले आइएलओ महासन्धि १६९ अनुमोदन गरे पनि लागु नगर्दा प्रथाजन्य कानुनले मान्यता नपाएको बताउँछन ।

‘थारू समुदायमा भल्मन्सा प्रथाको छुट्टै महत्व छ ।’ थारुले भने, ‘यसलाई कानूनी मान्यता दिइनु पर्छ भन्ने हाम्रो माग हो । तर राज्यले आइएलओ महासन्धि १६९ अनुमोदन गरे पनि लागु गरेको छैन ।’

आइएलओ महासन्धि १६९ को धारा ८.१ ले आदिवासी जनजाति थारूको प्रथाजन्य कानूनलाई प्रयोग गर्न पाउने अधिकारलाई मान्यता दिएको छ ।


  •  
  •  
  •