एमाओवादीले संविधानसभा बहिष्कार गरेपछि मोहन वैद्य एकता गर्न तयार

303
  •  
  •  
  •  

maiost vaidhyaकाठमाडौ, २२ माघ (ओएनएस) : संसदीय व्यवस्था र संविधानसभा नमान्ने नीति लिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले एमाओवादीसँग पार्टी एकता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एमाओवादीले संविधानसभा बहिष्कार गरेपछिको परिस्थितिमा बसेको वैद्य नेतृत्वको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

तीन दिनसम्म बसेको केन्द्रिय समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले एमाओवादीलाई संविधानसभा छाडेर आउन सुझाव दिएका छन् । अहिलेको अवस्थामा संविधानसभाबाट संविधान निर्माण भएपनि जनताको संविधान भने बन्न नसक्ने जिकिर गर्दै उनले भने, ‘तपाईहरु सडकमा आउनुस् । सडक संघर्षबाट मात्रै जनताको संविधान बन्छ भनेर हामीले वारम्बार भन्दै आएका छौं ।’

वैद्यले जनयुद्धमा संग्लन र अन्य क्रान्तिकारी कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याएर ‘नयाँ माओवादी कम्युनिष्ट केन्द्र’ स्थापना गर्ने भनाई राखेका छन् । उनले एमाओवादीसँग कार्यगत एकता गरेर संघर्ष अगाडि बढाउने र एकताको प्रक्रियालाई पनि अगाडि बढाउदै जाने केन्द्रिय समितिले निर्णय गरेको बताएका छन् । वैद्यले कांग्रेस एमालेले आफूहरूलाई पहिलेबाट संविधानसभाबाट अलग गरेको बताउँदै अहिले एमाओवादीलाई संविधानसभाबाट पाखा लगाउने काम गरेको बताएका छन् ।

उनले एमाओवादीसँग कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी ल्याउने र संघर्षको बीचबाटै जनताको संविधान बनाउनु पर्ने बताए ।

नेकपा-माओवादी केन्द्रीय समितिको बैठकले भ्रष्ट फटाहाहरुलाई कारबाही गर्ने जनाएको छ । फागुन १ गतेदेखि चैत्र २४ गते सम्मको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत भ्रष्ट र फटाहाहरुलाई कारवाही गर्ने वैठकले निर्णय गरेको महासचिव रामबहादुर थापा बादलले बताए ।


  •  
  •  
  •