मधेसको आधिकारी विजय गच्छदार होइन : उपेन्द्र यादव

456
  •  
  •  
  •  

upendra-yadav_20110506084356काठमाडौँ, २९ मंसिर(ओएनएस) : मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नै सरकार परिवर्तनको खेलमा लाग्दा संविधान लेखन प्रक्रिया ओझेलमा परेको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेकै शीर्ष नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाको सरकार ढालेर आफू नै प्रधानमन्त्री बन्न तम्सिँदा संविधान लेखन प्रक्रिया अगाडि नबढेको गुनासो गरे ।

साक्षात्कारमा यादवले सत्तारुढ दलका नेताहरुले आफुलाई वार्ताको लागि बोलाउँदा पनि सरकार परिवर्तनको मात्रै कुरा बढि उठान गरेको खुलासा गर्दै भने–‘अहिले सरकार परिवर्तनको कुरा बेमौसमको बाजा हो, फेरि कोइरालाको विकल्प खोजियो भने संविधान जारी गर्न सकिँदैन ।’

यद्धपी यादवले आफ्नो पार्टी संविधान जारी नभएसम्म र मधेशका जनताको एजेण्डा स्थापित नभएसम्म सरकारमा नजाने पनि प्रष्ट पारे । यादवले ठूला राजनीतिक दलहरु संविधानको काम कम र सत्ताको लागि बढि लागिपरेको भन्दै समय विलम्ब भएको समेत स्पष्ट पारे ।

उनले अझैपनि दलहरुले गम्भिर भएर सहमतिको लागि प्रयास गर्ने हो भने माघ ८ गते संविधान जारी हुन सक्ने बताएका छन् । यादवले ठूला राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिको लागि अहिलेसम्म कुनै ठोस पहलकदमी नचालेको उल्लेख गर्दै वार्ता तथा सहमतिलाई चिया गफ र डिनरको थलो नबनाईकन सार्थक र परिणामुखी वार्ताको रुपमा आत्मसाथ गर्ने हो भने अझैपनि माघ ८ गते संविधान जारी हुने सम्भावना व्यक्त गरेका छन् ।

यादवले संविधानका मूलभुत विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्यको पूर्नसंरचनामा अझैपनि विवाद कायमै रहेको बताउँदै गाँठो फुकाउन दलहरुले जिम्मेवार भएर प्रस्तुत हुुनुपर्ने सुझाव दिएका छन् । उनले भने–‘ठूला दलहरु चुनावका वेला व्यक्त गरेका प्रतिबद्धता अनुसार चल्न सकेका छैनन । किनभने उनीहरु सत्ताको लागि मरिहत्ते गरिरहेका छन् । जनताको चाहना अनुसार दलहरु अघि बढ्ने हो भने माघ ८ गते मुलुकले लोकतान्त्रिक संविधान पाउँछ । ’

उनले संविधानको विवादित विषयमध्ये राज्यको पुर्नसंरचना एवम निवार्चन प्रणाली अत्यन्तै संवेदनशील भएको भन्दै राज्यको पूर्नसंचनामा खाली भूगोलको बाँडफाँँड गरेर मात्रै नहुने स्पष्ट पारे । ‘संघीयता भनेको भूगोलेको मात्र सिमांकन गर्ने होईन, यो भनेको त सामाजिक–साँस्कृतिक पहिचान समेत कायम गर्ने कुरा हो जसमा विना विभेद राज्यको पहुँच सबै निकायमा प¥याउनु पनि हो’–उनले थपे ।

यादवले सबै राजनीतिक दलले विवादित विषयमा तयार पारेको प्रस्तावमा गहन रुपमा छलफल गर्न सकिए अझैपनि गाँठो फुक्ने विश्वास व्यक्त गरे । उनले भने–‘नेताहरु बालुवाटारमा छलफलका लागि जुट्छन तर वास्तविक रुपमा कुनै छलफल नै गर्दैनन बरु उनीहरु चिया खानमा व्यस्त हुन्छन, कहिलेकाहीँ त डिनर खानपनि व्यस्त हुन्छन अनि कहाँबाट सहमति हुन्छ त ?’

यादवले आफ्नो पार्टी मधेशमा एक प्रदेशको पक्षमा दृढ रुपमा अडिग रहेको प्रष्ट पारे । उनले आफ्नो लागि संघियतामा नाम र संख्या ठूलो कुरा नभएको भन्दै संघीयतामा राज्यको स्रोत र साधनको उचित रुपमा बाँडफाँड गर्नुपर्ने धारणा राखेका छन् ।

उनले विगतमा ठूला राजनीतिक दलहरुले समग्र मधेश एक प्रदेशमा सम्झौता गरेको स्मरण गर्दै त्यसबाट पछि हटे कसैको पनि हित नहुने चेतावनी दिए । उनले भने–‘ऋषिजी बालुवाटारमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा दायाँ बायाँ माधव नेपाल र प्रचण्ड रहेर हामीले सहमति गर्दा तपाईपनि साँक्षी हुनुहुन्थ्यो , त्यतिवेला भएका सहमति, सम्झौता तोड्ने हो भने त्यसबाट कसैको पनि हित हुुँदैन यसमा सबैको ध्यान जाओस ।’

उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले रिपोर्टर्स क्लब नेपालमा आएर तराइमा दुई प्रदेश हुन सक्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाउँदै भने–‘उनले त २०६९ साल जेठ २ गते नै पाँच प्रदेश स्विकार गरीसकेका छन् । त्यसैले विजयको कुरा नगर्नुहोस, मेरो कुरा गर्नुहोस । आजको दिनमा मधेशी जनताको अधिकारको लागि बढी लड्ने उपेन्द्र हो, अरुको कुरा मसँग नगर्नुहोस । अरुले सत्तामा जान मधेशमा जति प्रदेशमा पनि सम्झौता गर्न सक्छन तर उपेन्द्र यादव मधेशी जनताको अहित हुने कुरामा कहिल्यै सम्झौता गर्दैन ।’


  •  
  •  
  •