काठमाडौँ, २० फागुन(ओएनएस) : अमेरिकी विदेश मन्त्रालयले आफ्नो नेपालसम्बन्धी भ्रमण चेतावनी हिजो खारेज गरेको छ ।
नेपालसम्बन्धी २०७२ असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो । यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण चेतावनी खारेज भएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी यात्रीहरूको प्रयोजनका लागि नेपाल लगायत विश्वका हरेक देशका निम्ति स्थानीय अवस्था र जोखिमहरूको वर्णनसहितका निश्चित देशीय सूचना पत्रहरू प्रकाशित गर्ने गर्छ ।
कुनै देशमा भ्रमण गर्नका लागि उल्लेखनीय जोखिम रहको खण्डमा अमेरिकी विदेश मन्त्रालयले भ्रमण चेतावनी जारी गर्ने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको नेपालसम्बन्धी देशीय सूचना पत्रमा अझै पनि अद्यावधिक भ्रमण जानकारी पाउन सकिन्छ ।