चितवनमा पिसाब खरिदबिक्री, पैसा नभए पैंचोमा पाइने

883
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : पिसाब फेर्दा तपाईको ६ रुपैंयाँ बचत हुन्छ थाहा छ ? काठमाडौं लगायतका शहरमा बनेका सार्वजनिक शौचालयमा एक पटक पिसाब फेर्दा ५ रुपैंयाँ तिर्नुपर्छ । अब भन्नुहोला ६ रुपैंयाँ बचत कसरी हुन्छ ? चितवनको दारेचोक गाविसको कुरिन्टारमा पिसाब फेर्दा पैसा तिर्नु पर्दैन बरु एक रुपैंयाँ तपाईले पाउनुहुन्छ । अब भन्नुस् तपाईको ६ रुपैंयाँ बचत भयो की भएन ?

तपाईले फेरी भन्नुहोला पिसाब नफेरी बस्यो भने अरु पनि घाटा हुन्छ भनेर । पिसाबन फेर्दा वा रोक्दा स्वास्थ्यमा पर्ने असरहरु धेरै हुन सक्छन् । पिसाबको प्रयोग गरेर पनि फाइदा कमाउने बाटो धेरै छन् । पिसाब फेरेबापत एक रुपैंयाँ दिने अभियान दारेचोकका श्रीरेन्द्र पोखरेलले सुरु गरेका छन् ।

राजमार्गको छेउमा बनाएको सार्वजनिक शौचालय बाहिरै ‘पिसाब फेरौं, एक रुपैयाँ लैजाऔं’ लेखेर उनले २०६४ सालबाटै मानवमुत्र अर्थात पिसाब संकलन गरिरहेका छन् । पिसाब संकलनबाट शुरु भएको श्रीरेन्द्रको अभियान अहिले इकोशान रिसोर्स सेन्टरसम्म पुगेको छ । सेन्टरको छेउमैं बनाएको शौचालय बाहिर ‘पिसाब फेरौं, एक रुपैयाँ लैजाऔं’ लेखेको बोर्ड राखेका छन् ।

त्यहाँ पिसाब फेर्नेलाई एक रुपैयाँ दिनुभो त ? पोखरेल भन्छन्, ‘अहिले त एक रुपैंयाँको के मान्यता छ र ? पिसाब फेरेपछि कसैले एक रुपैंयाँ मागेका पनि छैनन् । फेरी एक रुपैयाँ लिनका लागि कोही पिसाब फेर्न पनि आउँदैनन् । मान्छेहरुको ध्यान तान्न हामीले यो तरिका अपनाएका थियौं ।’ ‘पिसाब फेरेको पैसा तिर्नु नपर्ने ? एक रुपैंयाँ उल्टै पाइन्छ ? भन्ने भएपछि मानिसमा कौतुहलता जगायो । यहाँ आएपछि पिसाबको पैसाभन्दा पिसाब संकलन र प्रयोग गर्दाका फाइदा बारेमा बुझेर जानुहुन्छ ।’

Urine collection in mass

२०६४ सालदेखि ‘इकोसान’ प्रविधिबाट पिसाब संकलन गर्न थालेका श्रीरेन्द्र पोखरेल दारेचोक–५, माझगाउँ माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक हुन् । जागिरबाट ३ वर्ष बेतलबी बिदा लिएर उनले पिसाब संकलनको अभियान सुरु गरे । उनी भन्छन्, ‘चितवनको दारेचोकमा अहिले पिसाबको अ‍ैंचो पैंचो चल्छ । तपाइँलाई विश्वास नलाग्ला तर अहिले गाउँका महिला घाँस काटन जाँदा बोतल बोकेर जान्छन् । पिसाब लागेपछि त्यही बोतलमा पिसाब गरेर घर आउँदा घाँस दाउरा सँगै पिसाब बोकेर फर्किन्छन् ।’

आठ बर्ष अघि खानेपानी तथा ढल निकास विभागले आयोजना गरेको विद्यालयको अगुवाईमा पूर्ण सरसफाई कसरी गर्न सकिन्छ ? भन्ने विषयको तालिमबाट प्रभावित भएका पोखरेल विद्यालयको पठन पाठन त्यागेर पिसाब संकलन गर्न तर्फ लागे । उनी भन्छन् ‘विभागबाट आएका प्रशिक्षकले दिएको पिसाबको महत्व बारेको ४५ मिनेट लामो कक्षाले मलाई यत्ति धेरै प्रभावित बनायो कि, मैले विद्यालय छाड्ने निधो गरें । ३ वर्षको बतलबी विदा लिएर यो अभियानमा लागें ।’

सरसफाइ तालिम सकिने बित्तिकै खानेपानी विभागमा पुगेर ‘इकोसान’ प्रविधिका २५ वटा प्यान मागे । तर विभागले उनलाई २५ वटाको सट्टा ५ वटा मात्र प्यान दिएर गाउँलेलाई कन्भिन्स गर्न भन्यो । उनी भन्छन्, ‘पिसाबको मेडिकल फाइदादेखि स्व–मुत्रपानसम्मका कुरा बुझाएपछि गाउँलेले मेरो कुरामा विश्वास गरे । यो अभियानकै कारण एक हजार ६ सय ६५ घरधुरी भएको दारेचोकका ४५ प्रतिशत घरमा ‘इकोसान’ प्रविधिका शौचालय छन् । ती शौचालय गाउँलेले आफ्नै लगानीमा बनाएका हुन् ।’

sewa nepal office

‘इकोसान’ चर्पी अर्थात दिशा र पिसाब फरक ठाउँमा जम्मा हुने चर्पीको महत्व र यसको सम्भावनालाई देखेर प्रधानाध्यापकको पद त्यागेर पिसाब संकलन अभियानमा लागेका श्रीरेन्द्रले छोटो समयमै ठूलो सफलता हात पारे । ‘इकोसान’ चर्पी बनाउने कामले यत्ति धेरै व्यापकता पाउन थाल्यो कि, यो गाउँ टोल, हुदै सिंगो दारेचोक गाविस र अन्यत्र समेत फैलिन थाल्यो । ‘यसको व्यवहारिक पाटो एकदम रोचक छ, पिसाब प्रयोग गरेर उत्पादन गरिएको बाली सप्रेको देखेपछि गाउँभरिका मानिसले पिसाब संकलन गर्न थाले’ श्रीरेन्द्रले भने ।

सुरुमा गाउँलेहरु पिसाब जम्मा पारेर तरकारी वा खेतबारीमा हाल्न घिनाए पनि । पोखरेल भन्छन्, ‘सुरुमा गाउँलेले सजिलै मानेनन् । एक महिनासम्म भाँडोमा राखेपछि पिसाबमा भएका सबै किटाणु मर्ने र नाइट्रोजनको मात्रा बाँकी रहने बताएँ । अहिले मान्छेले पिसाबलाई धन मान्न थालिसके । गाउँघरमा पिसाब पैचौं चल्न थाल्यो । छरछिमेककहाँ पिसाब पठाउने चलन चलिसक्यो ।’

गोरखाको पालुङटारमा भएको एकीकृत माओवादीको पाँचौं विस्तारित वैठकमा मात्र पोखरेलले १० हजार लिटर पिसाब संकलन गरेका थिए । त्यसपछि २०६७ को पुस माघमा भएको चितवन महोत्सवमा पनि झण्डै ५ हजार लिटर पिसाब संकलन गरेर बाँडेका थिए । अहिले पिसाब संकलन गरिदिन फोनबाटै अर्डर दिन्छन् र किन्नका लागि दारेचोकमैं आइपुग्छन् ।

उनी भन्छन्, ‘दारेचोकबाट सुरु भएको यो अभियान र पिसाब संकलनको महत्वका बारेमा देश विदेशमा रहेका मान्छेको चासोको विषय बनेको छ । यहि अभियानका क्रममा म नेपालमा २० भन्दा बढी जिल्लामा पुगिसकेको छु । अहिले समय बदलिएको छ । पहिले म अरुलाई इकोसान प्रविधि प्रयोग गर्न सल्लाह दिँदै हिँड्थें तर अहिले यो प्रविधि सिक्नका लागि दारेचोकमैं आउनेहरुको भिड छ ।’

चितवनको दारेचोक गाविस मात्र हो, जहाँ एउटै गाउँमा झण्डै ८ सय इकोसन चर्पी बनेका छन् । इकोसान चर्पी भएको घरमा त पिसाब संकलन हुन्छ नै, अन्य परम्परागत चर्पी प्रयोग गर्ने घरधुरीले समेत पिसाब संकलन गरी बालीनालीमा मलको रुपमा प्रयोग गर्दै आएका छन् । श्रीरेन्द्र पोखरेलले पिसाब फेर्नुहोस् एक रुपैयाँ लानुहोस् भन्ने अभियानको कार्यपत्र केही समय अघि स्कटहोममा भएको कार्यक्रममा समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रको विषयलाई लिएर त्यहाँका टेलिभिजन च्यानलहरुले समेत प्रमुखताका साथ समाचार प्रसारण गर्दा आफूले ठीक ठाउँमा पाइला टेकेको अनुभुति भएको श्रीरेन्द्रले सुनाए । पोखरेलले सुरु गरेको पिसाब संकलन अभियान र यसले कृषिमा ल्याएको क्रान्तिलाई विषयबस्तु बनाएर विभिन्न देशका विद्यार्थीहरुले खोज अनुसन्धान गरिरहेका छन् ।

Urine Using training


  •  
  •  
  •