प्रदेश ३ : उप-सभामुख तमाङ लागिन् कानूनी उपचार तिर

1443
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला ‘गाई काण्ड’ले तनावमा छिन्। ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भन्ने समाचार आएपछि उनकाे चाैतर्फी अालाेचना भइरहेकाे छ।

सामाजिक सञ्जाल फेसबुक,ट्वीटरमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्।। यसैको विरोधमा शनिबार नुवाकोटमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकाल्दै नामासमेत लगायाे।

उपसभामुख तामाङले अाेएनएस न्युजसँग भनिन्,’ बोल्दै नबोलेको कुरा बाहिर आएकाले कानुनी प्रकियामा जान्छु, मेरो मुखबाट नबोलेको कुरा आएकाले म दु:खी छु।’

उनले थप्दै भनिन् अतिवादीहरु मेरा विरुद्ध लागेर सामाजिक सञ्जालमा मेरो फोटो जथाभावी सेयर गरिरहेका छन्, म उनीहरुलार्इ पनि कानुनी दयारमा ल्याउ।’ आफूले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा फैलेको उपसभामुख तामाङले दाबी गरिन्।

अखिर घटना के हाे?

बिहीवार नेपाल तामाङ घेदुङको टोलीले मकवानपुर हेटौडा पदमपोखरीका ३ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा गृहमन्त्री रामबहादुर थापालाई भेटेको थियो। गाईको मासु खाएको आरोपमा प्रहरीले मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेको थियो। तीनै जनालाई व्याक्तिगत रिसइबीका कारण थुनेको भन्दै उनीहरुलाई छाड्दिन ज्ञापनपत्र बुझाएको थियो घेदुङले।

‘उनीहरु निर्दोष रहेको भन्दै घेदुङ टोली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका रहेछन्। सोही समयमा नुवाकोटको डेलिगेसन टोलीसँगै म पनि पुल्चोक पुगेकी थिएँ,’ उप-सभामुख तामाङले भनिन्।

त्यसको भोलिपल्ट अनलाइन र फेसबुकमा समाचार देखेर आफै छक्क परेको उप-सभामुख तामाङले बताइन्। ‘त्यो दिन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा घेदुङबाट महा-सचिवज्युले मात्र बोल्नुभएको हो। अरु कसैले बोलेकै छैन। बोल्दै नबोलेको कुरा आउँदा म त अचम्ममा परेँ,’ उनले भनिन्।

बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त? जवाफमा तामाङले भनिन्, ‘म प्रदेश ३ का उप-सभामुख हुँ। कता के बोल्नुपर्छ। पदीय मर्यादा के हो? यसबारे मलाई पनि थाहा छ। म बोल्नै परे पत्रकार सम्मेलन गरी बोल्थेँ। सबैमा आउथ्यो नि त्यो कुरा। यो खबर त नामै नसुनेको अनलाइनबाट भाइरल बनाइयो। विरोधीका लागि के निहुँ पाउँ जस्तो भइरहेको बेला भाइरल बन्न के ठूलो कुरा भयो र?’


  •  
  •  
  •