कारोबारै नहुने भन्सारमा पनि ‘उप्परका आदेश’

130
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक : करिब तीन दशकदेखि सुनसान देशकै एउटा प्रमुख नाकामा पनि अहिले भारतीय सशस्त्र सुरक्षा बलले कडाई गर्न थालेको छ । दाङको कोइलाबास भन्सार करिब तीन दशकदेखि अलपत्र परेको भन्सार नाका हो ।

पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएपछि यो भन्सार पछाडि परेको थियो । यहाँबाट कुनै पनि सामानहरु आयात निर्यात हुँदैन ।

तर, नाकाबन्दीले चारैतिर नाकामा कडाई हुन थालेपछि यो नाकाबाट जिल्लावासीले तेल ओसार्न प्रयोग गर्न थालेपछि त्यहाँको एसएसबीले अहिले नाका पूरै बन्द गरेको छ ।

कोइलावास दाङको दक्षिणी गाविस हो । यो सहित २५ भन्दा बढी नाकाहरु अहिले खुल्ला छन् । जहाँ एसएसबी मात्रै छ । कोइलावासबाहेक अन्य नाकाहरुमा नेपाल प्रहरीसमेत छैन । यो भन्सारमा भने सशस्त्र प्रहरी पनि बसेको छ ।

केही दिनदेखि कोइलावासको एसएसबीले नेपालीका मोटरसाइकलहरु समेत प्रवेश गर्न दिएको छैन । स्थानीयले चिनजानको आधारमा मोटरसाइकल भारतीय बजारमा छिराएपनि जाँदा–आउँदा भने मोटरसाइकलको ट्याङ्की खोलेर हेर्छ । आउँदा ट्याङ्कीमा धेरै तेल भयो भने मोटरसाइकल त्यहीँ रोकिदिन्छ ।

‘जर्किन लगेर त भारतीय बजारमा जानै दिन्न’ कोइलावासका नेपाली सईद सिद्धिकीले भने, ‘धेरैले जर्किनमा ल्याएको तेल खोसेर एसएसबीले राखेको छ ।’

उनका अनुसार नेपाली गाउँका मानिसहरु भारतीय बजारमा किनमेल जाँदासमेत कडाई भएको छ । अघिपछि त्यो नाकामा खासै कडाई हुँदैनथ्यो । सबै नेपालीहरुको आधार भारतीय बजार नै हो ।

नजिकमा नेपाली बजार केही छैन । त्यहाँ यातायात पनि छैन । त्यसैले नेपाली नजिकैको भारतीय बजार, जरुवा, बलरामपुर, तुलसीपुरलगायतका बजारमा किनमेल गर्न जान्छन् ।

त्यहाँस्थित नेपाली सिमा प्रहरी चौकीले पनि अहिले भारतीय पक्षले कडाई गरेको बतायो । ‘उप्परका आदेश’ भन्दै भारतीय एसएसबीले अहिले त्यो नाकाबाट केही पनि सामान ल्याउन लैजान दिएको छैन ।

‘हामीले पनि चासो राखेका थियौँ, उप्परका आदेश भन्ने जवाफ दिन्छन’ कोइलावास सिमा चौकीका असइ खगेन्द्र श्रेष्ठले भने ‘धेरैका तेलका जर्किनहरु प्नि खोसेर राखेको थियो, केही दिनपछि केही फर्कायो, केही त्यहीँ छन् ।’

तीन दशकअघि दैनिक करोडौंको राजश्वबराबरको कारोबार हुने यो भन्सार पूर्वपश्चिम राजमार्गमा यातायात चल्न थालेपछि सुकेको हो । अहिले पनि कोइलावासमा नेपाली वस्ती छ । तर, बजार सुकेपछि अहिले यो वस्ती पूरै भारतीय बजारको भरमा छ ।

स्थानीयका अनुसार केही दिनदेखि एसएबीले सीमानाहरुमा गस्तीसमेत बढाएको छ । पहिला छिटफुटमात्रै गस्ती गर्ने एसएसबीले अहिले दिनमै धेरै पल्ट बाक्लो गस्ती गरिरहेको देखिन्छ । आउने–नेपालीमाथि पनि निकै कडाई गरिरहेको स्थानीय बताउँछन् ।
– अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •